हाइटीमा भूकम्प: २७७ जनाको मृत्यु, सयौं बेपत्ता

बिएल संवाददाता

पोर्ट–अउ–प्रिन्स
Photo: reuters
Photo: reuters

हाइटीमा  शनिबार  गएको शक्तिशाली भूकम्पका कारण अहिलेसमम्म २७७ जनाको मृत्यु भएको पुष्टि भएको छ। समाचार एजेन्सी स्पुतनिकका अनुसार भूकम्पका कारण सयौं मानिस घाइते र बेपत्ता भएका छन्।

शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार हाइटीको राजधानीबाट करिब १५० किलोमिटर पश्चिममा भूकम्प गएको थियाे। 

रोयटर्सका अनुसार भूकम्प गएपछि त्यहाँका मानिस घर छोडेर सुरक्षित स्थानमा गएका छन्।

प्रारम्भिक विवरणमा भूकम्पका कारण कैयौँ भौतिक संरचनाहरू भत्किएको बताइएको छ। भूकम्पका कारण सयौँ निजी तथा सामुदायिक भवनहरू भत्किएका अपुष्ट सूचनाहरू प्राप्त भएका हाइटीका अधिकारीले बताएका छन्। प्रत्यक्षदर्शीले घटनास्थलबाट सामाजिक सञ्जालमार्फत सार्वजनिक तस्बिरमा भूकम्पले हाइटीको दक्षिणपश्चिमी प्रायद्वीपका स्कूलहरूका आवासीय भवनहरूमा क्षति पुर्याएको देखिएको छ। यस पहिले हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो। उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो। तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए।

 

प्रकाशित मिति: : 2021-08-15 07:32:00

प्रतिकृया दिनुहोस्