पाकिस्तानका सेना प्रमुख जनरल आसिम मुनिर अब ‘फिर्ड मार्सल’ भएका छन्। ‘भारतसँगको लडाईंमा देखाएको बहादुरीका लागि’ उनलाई पाकिस्तानी सरकारले यो सम्मान दिएको हो।
सैन्य जीवनमा फिल्ड मार्सल एक सम्मानमात्रै होइन बरु सैन्य शक्तिको एउटा उपल्लो दर्जा पनि हो। मुनिरलाई फिल्ड मार्सलमा बढुवा गरेर पाकिस्तानी सरकारले आफ्ना वायु सेना प्रमुखको कार्यकाल पनि थप गरेको छ। हालैमात्र पाकिस्तानी वायु सेना प्रमुख जहिर अहमद बाबर सिद्धूको कार्यकाल सकिएको थियो।
राष्ट्रपति आसिफ अलि जरदारीको अनुमतिमा प्रधानमन्त्री शहवाज सरिफ नेतृत्वको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री सरिफको सचिवालयले जारी गरेको विज्ञप्तिमा मुनिरलाई बढुवा गरेको कारण पनि खुलाइएको छ।
‘जनरल मुनिरलाई यो पदोन्नती उनको बहादुर नेतृत्व, रणनीतिक सोच अनि भारतविरुद्ध चालएको सैन्य अभियानमा निभएको अहम भुमिकालाई मध्यनजर गर्दै दिइएको हो’ प्रधानमन्त्रीले भनेका छन्।
सरकारको यो निर्णयप्रति आभार व्यक्त गर्दै मुनिरले भने यो सम्मानलाई पाकिस्तानी नागरिकको नाममा समर्पण गरेको बताएका छन्।
पाकिस्तानी सैन्य इतिहासमा मुनिर दोस्रो फिल्ड मार्सल हुन्। यसअघि सन् १९५९ माजनरल मोहम्मद आयुव खानलाई पाकिस्तानले फिल्ड मार्सल बनाएको थियो।
यो पद भनेको जनरल भन्दा माथिल्लो हुन्छ। काँधमा पाँच तारा लगाएका फिल्ड मार्सल भनेको आजीवन पद हो। उनको मृत्यु नभएसम्म अहिले पाउँदै आएको सबै अधिकार, शक्ति र सेवा सुविधा उनीहरूलाई दिइन्छ। प्राय युद्धका बेला सेनालाई निर्णायक बनाउनका लागि यो पद दिइन्छ। यस्तो चलन भारत, बेलायत, जर्मनीलगायतका देशहरूमा पनि छ।
मुनिर सन् २०२७ सम्म पाकिस्तानका सेना प्रमुख रहनेछन्। यसअघि नै उनले तीन वर्षे सैन्य प्रमुखको कार्यकाल पाँच वर्ष हुनेगरी नियम परिवर्तन गरेका थिए।
हालैमात्र भारतसँगको लडाईंका बेला पाकिस्तानी सैन्य नेतृत्वमाथि प्रश्न उठेका थिए। केही राजनीतिक पार्टीहरूले सेना प्रमुख मुनिरलाई हटाउन माग गर्दै आएका थिए। तर सहवाज सरकार भने मौन थियो। त्यो बीचमा पाकिस्तानी सेनाले ‘कु’ गरेर सत्ता आफ्नो हातमा लिने सूचनासमेत प्रधानमन्त्रीसम्म पुगेको समाचारहरू सार्वजनिक भएका थिए। पाकिस्तानको इतिहासमा युद्धका बेला जहिले सेना नै हाबी हुन्छ। त्यहाँको सरकार त्यो बेला काम चलाउमात्रै हुन्छ।
यसअघि पाकिस्तानी सेनाले नै गराएको चुनावबाट सहवाज त्यहाँका प्रधानमन्त्री भएका थिए।
भारतीय सेनामा फिल्ड मार्सल भनेको सबैभन्दा सर्वोच्च पद हो।
भारतमा पनि अहिलेसम्म दुईजनाले मात्रै त्यस्तो सम्मान पाएका छन्। पहिलोपटक सन् १९७३ मा शाम मनेक्सा अर्थात् ‘शाम बहादुर’लाई यो पद दिइएको थियो। सन् १९७१ मा भारत-पाकिस्तानबीच भएको युद्धमा उनले निर्णायक भूमिका खेलेका थिए।
दोस्रोपटक सन् १९८६मा के एम करियप्पालाई फिल्ड मार्सल बनाइएको थियो। तर त्यो बेला उनले अवकाश पाइसकेका थिए। यद्यपि यो पद र सम्मान अनि सेवा सुविधान भनेको आजीवन नै हुन्छ।