काबुलबाट उद्दार गरिएका नेपालीले भने: हामीलाई अमेरिकाले बचायो (भिडियाेसहित)

कमल प्रभात

काठमाडौं

इस्लामिक सशस्त्र विद्रोही सङ्गठन तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि म्याग्दी दरबाङका नन्द रोकालाई अमेरिकाले उद्दार गरी काठमाडौं ल्याइपुर्याएको छ।

अमेरिकाले काबुलस्थित आफ्नो दूतावासमा काम गर्दै आएका एक सय २७ जना नेपालीलाई मंगलबार विहान जजिरा एयरवेजको विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। तीमध्ये रोका पनि एक हुन्।

सुरक्षित काठमाडौं अवतरण गरेका रोकाले बिएल नेपाली सेवासँग भने, ‘तालिबानहरू काबुल पस्न लागेको सूचना पाएलगत्तै हामीलाई अमेरिकी विमान आएर कतार पर्यााएको थियो। दुई दिन त्यहीँ बस्यौं। आज बल्ल नेपाल ल्याइयो।’

अमेरिकाले आफ्नो दूतावासमा काम गर्दैआएका नेपाली सेक्युरेटी गार्डलगायतका कर्मचारीलाई उद्दार गरी बिहान मंगलबार नेपाल ल्याइपुर्याएको हो।

तालिबानले आइतबार साँझ काबुल कब्जा गर्नुअघि नै अमेरिकाले आफूहरूलाई कतारको दोहा लगेको र त्यहाँबाट कुवेत हुँदै नेपाल ल्याइपुर्याएको उनले बताए।

'काबुलमा तालिबान पस्न लाग्यो भन्ने खबर फैलनेबित्तिकै राजधानी शहर अस्तव्यस्त बनेको थियो। सबै मानिस आत्तिएको दृश्य देखिन्थ्यो', उनले आफूले देखेको काबुलबारे भने, ‘हामीलाई गाह्रो भएन, दूतावासभित्रै काम गर्ने भएकाले अमेरिकाले उद्दार गर्यो तर बाहिरकाको अवस्था निक्कै डर लाग्दो थियो।’

रोकाले काबुलमा कार्यरत नेपाली समस्यामा परेको उनले जानकारी दिए। उनले भने, 'सरकारले छिट्टा उद्दार गरोस्।’ आफूलाई अमेरिकाले बचाए पनि अरू नेपाली समयमै उद्दार हुन नसकेकोमा दु:ख लागेको बताएका छन्।

रोकाले दूतावासमा तीन वर्षदेखि काम गर्दैआएको बताउने उनले भने, 'गत महिनादेखि तालिबानले विभिन्न प्रान्त कब्जा गर्न लागेपछि आफू त्रशित भएर बसेका थियौँ।'

त्यहाँ रहेका विदेशी नागरिकहरूको यतिबेला उद्दार भइरहेको छ। विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता गरिरहेका छन्।

सोही अनुसार अमेरिकाले आफ्नो दूतावासमा काम गर्दै आएका नेपाली सेक्युरेटी गार्डलगायतका कर्मचारीलाई आज उद्दार गरी नेपाल ल्याएको छ।

प्रकाशित मिति: : 2021-08-17 16:08:00

प्रतिकृया दिनुहोस्