एमालेभित्र उथलपुथल : एकाएक गर्मायो प्रदेश १ को राजनीतिक माहोल

अन्नपूर्ण पोष्ट

किशोर बुढाथोकी

केन्द्रमा नेकपा (एमाले)बाट माधवकुमार नेपाल समूह अलग भएपछि प्रदेश १ को राजनीतिक माहोल गर्माएको छ । गत निर्वाचनबाट मुलुककै प्रमुख दलका रूपमा स्थापित एमालेमा उथलपुथल हुँदा त्यसको प्रत्यक्ष प्रभाव प्रदेशमा परेको हो । एमालेबाट अलग भएर नेकपा (एमाले समाजवादी) को नेतृत्व गर्न नेपाल पुगेपछि प्रदेश १ सरकारको भविष्यसँग जोडेर राजनैतिक चर्चा एवं परिचर्चा हुन थालेको छ । प्रदेशभित्रको राजनैतिक माहोललाई लिएर आ-आफ्नै व्याख्या र विश्लेषण भइरहेका छन् । 

केन्द्रमै माहोल फेरिएपछि अब प्रदेशको राजनीति कसरी अगाडि बढ्छ भनेर चर्चा हुनु स्वभाविक भएको एमालेका एक नेताले बताए । यद्यपि केन्द्रमा माधवकुमार नेपाल अलग भएपछि सुविधाजनक बहुमतसहित एमालेबाट प्रदेश १ सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री शेरधन राई अप्ठेरोमा परेका छन् । ‘समस्या टर्ला या सरकार झन् संकटमा पर्ला भन्ने विषयको चर्चा अहिलेको मुख्य केन्द्रविन्दुमा छ,’ स्रोतले भन्यो, ‘पछिल्लो राजनैतिक परिस्थिति हेर्दा अहिलेकै सरकार यथावत रहने सम्भावना एकदमै न्यून छ ।’ 

एमालेको संस्थापन एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मुख्यमन्त्री राईले राजीनामा दिने हल्ला कतिपयले चलाएका छन् । विशेष गरेर यो हल्ला चलाएको आरोप कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेपाल नेतृत्वको एमाले समाजवादीमाथि लागेको छ । केन्द्रमा एमाले दुई चिरा हुँदा यी तीन दलले अरु साना दलको पनि साथ लिएर गठबन्धन सरकार निर्माणको गृहकार्य भने गर्न थालेको बताइएको छ ।  

प्रकाशित मिति: : 2021-08-20 17:00:00

प्रतिकृया दिनुहोस्