जनैपूर्णिमाको दिन कुम्भेश्वरमा प्रतिबन्ध, जात्रा र पर्वहरु घरमै मनाउन आग्रह (भिडियाे)

कमल प्रभात

काठमाडौँ

यदि कोरोना कहर हुन्नथ्यो भने ललितपुरको एक मात्रै पंञ्चतले मन्दिर कुम्भेश्वरमा यतिबेला मेलाको तयारी चलिरहेको हुन्थ्यो। तर, कोरोना संक्रमणको जोखिम भएकोले देशभरका अन्य मठ मन्दिरजस्तै कुम्भेश्वर मन्दिर पनि सुनसान छ।

यहाँ गोसाइँकुण्डबाट जल आउँछ भन्ने मान्यता रहँदा साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ। यस पटक भने कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा यहाँ लाग्ने मेला रोकिएको छ। प्रशासनको आदेश अनुसार मन्दिर व्यवास्थापन समितिले यस वर्षको मेला प्रतिकात्मक रुपमा सम्पन्न गर्ने तयारी गरेको छ।

देशका विभिन्न क्षेत्रमा जस्तै काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको छ। जस अनुसार रातको समयमा सवारी साधन चलाउँन पाइदैन। मेला-महोत्सव गर्न बन्देज गरिएको छ।

त्यसैले कोरोना संक्रमण कायमै रहेको हुँदा यसपटको जैनपूर्णिमा आ–आफ्नो घरमै मनाउन कम्भेश्वर मन्दिरमा मुख्य पुजारी माधवश्याम शर्माले अनुरोध गरेका छन्।

‘कुम्भेश्वर मेला प्रख्यात, प्रचीन र महत्वपूर्ण छ। सधैँ यहाँ जनैपूर्णिमा मेला लाग्ने गर्थ्याे। गत वर्षबाट कोरोना महामारी फैलियो। त्यसकारण यसपटक पनि हामीले वर्षौदेखि पूजाआज गर्दै आउनु भएका भक्तजनको इच्छा पूरा गर्न सकेनौं’, पुजारी शर्माले भने, ‘यस पटक हामीले केही मानिसको उपस्थितिमा विधि पुर्‍याउने काम गछौं।’

उनले सनातन धर्म नयाँ र पुरानो भन्ने नहुने र यसमा कसैले पनि नराेक्ने भएकाले आफू अनुकुल र समय अनुसार पर्व मनाउने सकिने बताए।

‘अवस्था अनुसार भगवानलाई जहाँबाट पनि पुकार्न सकिन्छऽ त्यसैले अहिले कोरोनाको डर छ। घरमै बसेर जनैपूर्णिमा मनाउन अनुरोध गर्छु।’, पुजारी शर्माले भने।

वि.सं.२०४१ देखि यस मन्दिरमा पुजारीको रुपमा रहेका शर्माले कोरोना संक्रमणपछि धर्म, संस्कृति मनाउने कुरामा पनि फेरबदल आएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले कोरोना संक्रमण अन्त्यपछि मेला लाग्ने भए पनि पहिलाजस्तो नहुने हो कि भन्ने डर भएको बताए।

त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकोले अब आउने सबै जात्रा तथा मेलाहरुमा भीडभाड नगरी प्रतिकात्मक रुपमा मनाउन अनुरोध गरेको छन्।

हिन्दू धर्मवालम्बीहरुका धेरैजसो चाडपर्वहरु नजिकिएको र यही समयमा कोरोना करह रहेकोले जात्रा र मेला नगर्न मेयर महर्जनले अनुरोध गरे।

‘अहिले कोभिडको नयाँ–नयाँ भेरियन्ट आइरहेको र कोरोना संक्रमणदर पनि बढ्दै गएको अवस्था छ, तसर्थ हामी मेलापर्व मनाउँदा निक्कै ख्याल गर्नु पर्ने अवस्था आएको छ’, मेयर महर्जनले भने, ‘यस पटककाे जात्रा र मेला प्रतिकात्मक रुपले घरमै बसेर परिवारको बीचमा मनाउनुहोस्।’

मेयर महर्जनले आफूहरुले र मठ मन्दिरका समितिहरुसँग सहकार्य गरेर भीडभाड हुन नदिने बताएका छन्।

मेलापर्वकाे व्यवस्थापनका विषयमा ललितपुरका विभिन्न निकायहरूसँग समन्वय गरेर यसअघि नै नीति तथा कायक्रमसमेत तयार पारेकाे पनि नगर प्रमुख महर्जनले बताए।

श्रीकृष्ण जन्माअष्टमी, जनैपूर्णिमा, सिंह जात्रा, मत्यां जात्रा, भिन्द्यो जात्रा, कुम्भेश्वर मेलालगायतका जात्रा पर्वहरु अब क्रमश सुरु हुँदैछन्।

प्रकाशित मिति: : 2021-08-21 19:47:00

प्रतिकृया दिनुहोस्