आफ्नोविरुद्धको समाचार आएपछि अनलाइन ब्लक, नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले आफ्नोविरुद्धमा समाचार प्रकाशित गरेको भन्दै विराटनगरको एक अनलाइन समाचार पोर्टल ब्लक गरेको छ।

विराटनगर ट्राफिक चोकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेको समाचार शुक्रबार विराटनगरको आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो। गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए।

‘समाचार प्रकाशित गरेको विषयमा हाम्रो अनलाइनलाई उसको नेटवर्कभित्र ‘ब्लक’ गरिदियो,’ आवर विराटनगर डटकमका प्रबन्धक/निर्देशक सरोज कार्कीले भने, ‘यो प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता विरुद्धमा छ।’

आवर विराटनगरको पेज ब्लक गरेपछि क्लासिक टेक प्रयोगकर्ताले त्यो पेजमा गएर समाचार सामाग्री हेर्न नमिल्ने बनाएको कार्कीले बताए। सेवाग्राही अमित गुप्ताले चारदिन अगाडिदेखि सेवा अवरुद्ध भएको भन्दै गुनासो गरेपनि सुधार नगरेपछि शुक्रबार साँझ तालाबन्दी गरेका थिए।

क्लासिक टेकको नेशनल मेनेजर भुपाल सिंह कार्कीले फोन गरेर आवर विराटनगरमा समाचार आएकोप्रति सेवाग्राहीलाई धम्कीसमेत दिएका छन्। समाचार सामाग्रीमा चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्ने कुराको आलोचना चौतर्फी भएको छ।

यसैबिच नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनी क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ।

ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दीविरुद्ध समाचार प्रकाशन गरेको विषयलाई लिएर गरिएको प्रतिबन्ध तत्काल हटाउन महासंघ मोरङले आग्रह गरेको हो।

महासंघ मोरङका सचिव नेत्र पि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनमा प्रकाशित समाचारबारे चित्त नबुझे कानुनी उपचार खोज्न पाउने अधिकार भएपनि सञ्चारमाध्यमलाई नै ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि हनन् भएकाले तत्काल क्षमा माग्दै प्रतिबन्ध हटाउन ध्यानाकर्षण गराएका हुन्।

सचिव अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘समाचार प्रकाशनको विषयलाई लिएर इन्टरनेट प्रदायक निजी कम्पनिले सञ्चारमाध्यमलाई नै प्रतिबन्ध लगाउने कार्य नेपालको संविधानविपरीत कार्य भएको हाम्रो ठहर छ, सञ्चारमाध्यमलाई ‘ब्लक’ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हनन् भएकाले क्लासिक टेकलाई तत्काल क्षमा माग्दै प्रतिबन्ध हटाउन ध्यानाकर्षण गराउँदछौं।’ महासंघले विषयप्रति गम्भीर नबने जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी समेत दिइएको छ।

विराटनगर ट्राफिक चोकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार शुक्रबार आवर विराटनगर डटकमले प्रकाशित गरेको थियो। गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले क्लासिक टेकको कार्यालयमा तालाबन्दी गरेका थिए।

यता क्लासिक टेकले आफ्नो कमजोरी ढाकछोप गर्न व्यक्तिगत स्वार्थसँग जोडेर समाचार प्रकाशित भएको भन्दै विज्ञप्ती प्रकाशित गरेको छ। नागरिकलाई प्रदान गर्ने सेवा प्रवाह चुस्त राख्न नसक्दा सेवाग्राहीले आफ्नो गुनासो सञ्चारमाध्यममा ल्याएको विषयलाई क्लासिक टेकले गम्भीर रुपमा नलिएको हो।

क्लासिक टेक प्रा.लि.का डिजीएम पब्लिक रिलेश सुशील सिंह थापाले विज्ञप्ती जारी गर्दै समाचारलाई भ्रमपूर्ण रहेको दाबी गरेका छन्। तर, विराटनगर ट्राफिक चोकस्थित सेवा केन्द्रमा तालाबन्दीपछि उसले शुक्रबार साँझ नै सेवाग्राहीको घरमा इन्टरनेट सुविधा उपलब्ध गराउन आफ्ना कर्मचारी खटाएको थियो। बारम्बार गरिएको आग्रह नमानेपछि आजित भएका सेवाग्राहीले कार्यालयमा आएर तालाबन्दी गरेका थिए। त्यहि विषयलाई ओबीले समाचारको रुपमा प्रकाशित गरेको थियो।

प्रकाशित मिति: : 2021-08-29 14:49:00

प्रतिकृया दिनुहोस्