एकीकृत समाजवादीमा सनाखत गर्न हिँडेका सुदूरपश्चिमका दुई सांसद् बाटोबाटै बेपत्ता, एमालेका १० प्रदेश–सांसद् नयाँ पार्टीमा

तस्बिर : न्युज कारखाना
तस्बिर : न्युज कारखाना

एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन्।

एकीकृत समाजवादीमा लाग्ने बताएका  १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १० जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) लागेको भनी निर्वाचन कार्यालय गएर सनाखत गरेका छन् तर दुई जना सांसद बाटोबाटै सम्पर्कबिहीन भएका थिए । उनीहरुको खोजी भइरहेको सोडारीले बताएका छन्। एक जनाले सनाखत गर्न अस्वीकार गरेका छन् ।

एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रिएलगत्तै समाजवादीमा खुलेका दुई जना प्रदेश सांसद सम्पर्कविहीन भएको बताइएको छ।

तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् भने समाजवादीतिर लागेको भनिएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मानेका छैनन्। सांसदको खोजीमा रहेकाले सोडारीको पनि सनाखत हुन बाँकी छ।

माधव नेपाल छाडेका एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रेपछि सांसदहरु सम्पर्कबिहीन भएको बताइएको छ।

सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन्।

 

प्रकाशित मिति: : 2021-08-31 17:09:00

प्रतिकृया दिनुहोस्