कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट मीन विश्वकर्माले दिए राजीनामा

File Photo
File Photo

मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन्। कांग्रेसले दलित समुदायको सहभागितालाई प्राथमिकता नदिएको भन्दै उनले राजीनामा दिएका हुन्।

पार्टी सभापतिलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन्, ‘कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केही समय पश्चात नै शून्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर बस्न नैतिकरूपले नमिल्ने र नसक्ने भएकोले आजैका मितिदेखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु।’ 

सभापतिलाई सम्बोधन गरिएको उनको राजीनामाको पूर्णपाठ :

मितिः १६ भदाै २०७८

सम्माननीय सभापतिज्यू, 
नेपाली कांग्रेस, केन्द्रीय कार्यसमिति, वीपी नगर सानेपा, ललितपुर।

विषयः राजीनामा सम्बन्धमा।

महोदय,

नेपाली कांग्रेस पार्टीले स्थापना कालदेखि अभ्यास गर्दै आएको जातीय, क्षेत्रीय, लिङ्गीय समावेशीतालाई नवौं महाधिवेशनदेखि क्रमशः स्थानीय वडा तहदेखि केन्द्रीय तहसम्म प्रयोग गर्दै आई एघारौं, बाह्रौं र तेह्रौं महाधिवेशनमा विधान बमोजिम नै प्रत्येक वडावाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान गरेको थियो।

जसको आधारमा कम्तीमा जम्मा जनसंख्याको ८ दशमलव ५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको थियो। वर्तमान विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकावाट बिना छलफल लागु गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः निशेध गर्ने देखिएको छ। तर, पार्टीमा सधै बर्चश्व रहेको जाती, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ। एघारौं महाधिवेशन सम्माननीय सभापतिज्यू आफैले प्रारम्भ गर्नु भएको “कदमजम“ सिद्धान्तको खिल्ली उडाएकोछ। यसरी पडयन्त्र मुलक ढंगवाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरि लागु गरिने निर्वाचन निर्देशिका नेपाल दलित संघका लागि मान्य हुन सक्दैन। यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा दलित समुदायको सहभागिता केहि समय पश्चात नै शुन्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई संगठित गर्ने भातृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रुटिपूर्ण, अव्यवहारिक एवं अन्यायपूर्ण नीति नियम लागु हुँदा टुलुटुलु हेरेर वस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मिति देखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु। साथै, पार्टीको सिद्धान्त, नीति र आदर्श प्रति प्रतिबद्धरहि न्याय, समानता र स्वतन्त्रताकालागि सधैव लडी रहने प्रण गर्दछु। जयनेपाल।

मीन विश्वकर्मा

अध्यक्ष, नेपाल दलित संघ

सदस्य, नेपाली कांग्रेस केन्द्रीय समिति

प्रकाशित मिति: : 2021-09-01 17:49:00

प्रतिकृया दिनुहोस्