जनतासँग मनकाे सम्बन्ध बनाएर यसरी काम गर्दैछन् कर्णालीका उर्जामन्त्री श्रेष्ठ

Breaknlinks
Breaknlinks

कर्णाली प्रदेशका उर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठकाे छवि उचाे छ।

उनी मन्त्री नबन्दा पनि चर्चामा आइरहेका पात्र हुन्। राजनीतिक स्वार्थ त्यागेर जनताकाे हितलाई प्राथमिकता दिने बानीकै कारण उनी विपक्षीहरुका समेत प्रिय छन्।

कर्णाली प्रदेशकाे लेखा समितिका सभापति हुँदा उनले महत्त्वपूर्ण गतिविधि गरे। तत्कालीन प्रधानमन्त्री केपी ओलीले रारामा पुगेर कर्णाली भ्रमण वर्षकाे उद्घाटन गर्दा उनले त्यहाँ भएकाे भ्रष्टाचारकाे विना पक्षपात छानबिन गरेका थिए। 

प्रदेशका तामाम सीमाहरुका बीचबाट उनले गरेका काम तारिफगाेग्य छन्। मन्त्री बनेपछि पनि त्यसरी नै सक्रिय हुँदा उनकाे आश मान्नेहरुकाे जमात बढेकाे छ। प्रदेश सरकारमा सामेल भएका अन्य पार्टी र मन्त्री तथा सत्ता साझेदारीमा असंलग्न सांसदहरुसँग समेत समन्वय गर्ने गरेकै कारण विवादकाे चाैघेराबाट उम्कन सकेका छन्।

अन्य मन्त्रालयका मन्त्री र कर्मचारी संयन्त्रबीच फाटाे आइरहँदा उनी मन्त्रालयका सचिवदेखि मातहतका अन्य जिल्लाका कर्मचारीहरुसँग कार्यसम्पादन सम्झाैता गरेर एक तहकाे गतिविधिलाई अगाडि बढाउन सफल भएका छन्।

'हामी सरकारमा हुँदा जनता सबैलाई आफ्ना भन्न सक्नुपर्छ। जनतालाई समेत पार्टीको ट्याग लगाउने हाे भने सरकार विवादमा फस्छ र काम हुन सक्दैन,' मन्त्री श्रेष्ठले भने, 'दलीय व्यवस्थामा हरेक व्यक्ति एक न एक दल र आस्थाकाे हुन्छ नै, त्यसमा आफ्नाे विचार र सिद्धान्तको मान्छे खाेज्न थालियाे भने असफलता त्यहीँबाट हात लाग्छ। त्यतिमात्र नभइ कर्मचारीसमेत फरक पार्टीका कर्मचारी संगठनमा संलग्न हुने हुँदा त्यहाँ पनि आफ्नाे खाेज्ने हाे भने असहयोगकाे सिलसिला सुरु हुन्छ। त्यसैले पनि सबैसँग समन्वयकाे जरुरी हुन्छ भनी काम अघि बढाएका छाैं।'

केही दिनअघि दाेस्राे पटक जिल्ला भ्रमणमा आउँदा बिएल नेपाली सेवासँगकाे कुराकानीका लागि समय मिलाएका थिए। त्यसबेला उनले भने, 'साना स्वार्थलाई त्याग्न सक्याे भने काम गर्न सहज हुने रहेछ। हाम्राे मन्त्रालयका सचिव र कर्मचारीहरु कानून र व्यवहारलाई ध्यानमा राखी कार्यसम्पादन गर्न लागि परेका छन्। ढिलासुस्ती र हलाे अड्काउने कामलाई निरुत्साहित गरिएकाे छ।'

उनले बाढी पहिराे पीडितकाे दैलाेमा पुग्ने क्रममा कालिकोट नरहरीनाथ गाउँपालिकामा अघिल्लाे वर्ष प्रभावित कुल दुई सय ४७ घरधुरीका पीडितलाई भेटेका थिए। उनी फर्किएपछि खाद्यान्नलगायतका सामग्रीकाे लागत बजेट व्यवस्था गर्ने काम गरेका छन्।

'लेखमा बसिरहेका नागरिककाे जतिसक्दो छिठाे घरबास गराउने याेजनामा लागेका छाैं। सरकारले जनता आवास कार्यक्रमअन्तर्गत उनीहरुकाे घरकाे चाँडै बन्दाेबस्त मिलाउने गरि तयारी गरिसकेको छ। बस्ती उज्यालो कार्यक्रमअन्तर्गतकाे साेलार दिने गरि काम अगाडि बढाउन निर्देशन दिइएकाे छ,' उनले भने।

यस वर्ष वर्खाले जुम्लाको चाैधबीस क्षेत्रमा ठूलाे जनधनको क्षति गर्‍याे भने सिंजा क्षेत्रका नागरिकसमेत प्रभावित बने। बाढी पहिराेबाट क्षति हुँदा जनताकाे घाउमा मलम लगाउन उनी आफै पुगेका थिए। घरनजिक मन्त्री पुगेर आफ्ना समस्याबारे बुझिदिँदा जनता भावुक बनेका दृश्यहरु उनकाे भ्रमणको बेला देख्न सकिन्थ्यो।

अहिले कर्णाली राजमार्गकाे स्थिति नाजुक बन्दै गएकाे छ। प्रदेशका मुख्यमन्त्री गृह जिल्लामा हेलिकप्टर चार्टर गरेर तथा अन्य जिल्लामा हवाईजहाज प्रयाेग गरेर पुगिरहेकाे समयमा उनी भने स्थलमार्ग प्रयाेग गरि आफै क्षतिकाे लगत उठाउन लागेकाे देखेका जनताले उनकाे प्रशंसा गरेकाे छन्।

जुम्ला चाैधबीसका स्थानीय रणबहादुर महताराले गाउँमा बाढीले गरेको क्षतिले आजित किसानको घरदैलोमा पुगेर उर्जा दिएकोमा मन्त्रीप्रति खुशी व्यक्त गरे। 'अहिलेसम्म गाउँमा बाढीपहिरोको कुनै पनि घटना भएको थिएन। पहिरो आउँछ भन्ने कल्पनासमेत गरेका थिएनौं,' उनले भने, 'सहयोग पाएकाे दिन सारा पीडितहरुकाे घाउ निकाे हुनेछ।'

उनले पुर्खादेखि नसुनेको र नदेखेको बाढीपहिरो आएपछि आफूहरु पीडित बनेकाे बताए। उनका अनुसार बाढीपहिरोले १२ वटा घट्ट, २५ वटा पशुचौपाय, एक जना मान्छे र खेतियोग्य जमिन सबै बगाएर लगेको थियो।

यो सँगै घरीखोला भगवती मन्दिर आसपासको क्षेत्र क्षतिग्रस्त भएको छ। मन्दिर आसपासका २२ वटा धारा बगेका छन्। पहिरोले पुर्खाहरुका शिला र चिन्हहरु समेत बगाएर लग्याे।

स्याउ, ओखर नर्सरी, आलु, मकै, सिमी, चिनो, कागुनो र कोदोसमेत बगाएर लगेको किसानहरु चिन्तित बनेका छन्। गाउँभित्रका १ सय ७५ घर धुरीको झण्डै ६० हल जमिन बाढीपहिरोले बगाएको हो।

'पहिरोले गाउँको सुन्दरता गुमेकाे छ। रोजीरोटी खोसिएकाे छ। हिँड्ने पुलपुलेसा बगेका छन्। बिजोग अवस्था छ। केही गरिदिएकाे खण्डमा आभारी हुने थियौं,'  पहिराे पीडितहरुकाे सामुहिक स्वरलाई मन्त्री श्रेष्ठले उचित सम्बाेधन हुने आश्वासन दिए।

उनले सुर्खेत फर्किएपछि नदीले कटान गरेकाे क्षेत्रमा तत्काल जालीकाे बन्दाेबस्त गरेका छन् भने राहतकाे लागि मुख्यमन्त्री कार्यालयसँग समन्वय गरिसकेकाे बताए।

प्रकाशित मिति: : 2021-09-01 20:56:00

प्रतिकृया दिनुहोस्