विवेकशील साझा पार्टीभित्रकाे लफडा झन् ठूलाे बन्दै, मिश्रले पाण्डेलाई दिए यस्ताे चेतावनी

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले पार्टीभित्रै समानान्तर गतिविधि गर्नेहरूलाई कारवाही गर्ने निर्णय गरेको छ।

आज (बिहिबार) बसेको बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै पार्टीभित्र समानान्तर गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ।

त्यस्तै बैठकले सामाजिक सञ्जालमा पनि पार्टी र अध्यक्ष मिश्रविरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि रोक्न निर्देशन दिँदै आवश्यक परेमा कारवाहीसमेत गरिने बताएको छ।

पार्टी संयोजक पाण्डे पक्षले पनि आजै केन्द्रीय कमिटी बैठक बोलाएको थियो। अध्यक्ष र संयोजकले छुट्टाछुट्टै बैठक बोलाएका हुन्।

मिश्र पक्षको बैठकमा १०१ जना सदस्य सहभागी थिए भने पाण्डे पक्षको बैठकमा ४१ जना सदस्य सहभागी थिए।

यस्ताे छ मिश्र पक्षकाे बैठकले गरेका निर्णयहरूः

१) अवैध र समानान्तर गतिविधि सञ्चालन गर्दै पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न केन्द्रीय सदस्यहरूलाई त्यस्ता गतिविधि तत्काल रोक्न बैठकले कडा निर्देशन दिएको छ। त्यस्ता कदम तत्काल नरोकिए केन्द्रीय समितिले आवश्यक कारबाही गर्ने निर्णय गरेको छ।

त्यस्तै, सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध अमर्यादित, अपमानजनक र पार्टीलाई घात गर्ने खालका टीकाटिप्पणी गर्ने केन्द्रीय सदस्यहरूलाई पनि त्यस्तो नगर्न सचेत गराउँदै, आइन्दा त्यसो गरेको खण्डमा पार्टीले कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

२) पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै अबको एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ।

३) बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा केन्द्रीय समितिको आगामी बैठकमा अध्यक्ष रवीन्द्र मिश्रले पेस गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: : 2021-09-02 19:28:00

प्रतिकृया दिनुहोस्