गत १५ अगस्टमा रिलिज भएको फिल्म 'शेरशाह'ले राम्रो प्रतिक्रिया पाइरहेको छ। भारतीय शहिद विक्रम वत्राको जीवनीमा आधारित फिल्म ओटीटीमा रिलिज भएको हो। यसलाई भारतीय दर्शकले रुचाइरहेका छन्। यो फिल्म पाकिस्तानी घुसपैठबाट इन्डियाले आफूलाई बचाएको कथामा आधारित छ। यसमा विक्रमको वीरताको कथा देखाइएको छ।
जसलाई दर्शकले रुचाएका छन्। तर, फिल्ममा जति विक्रमको वीरताको चर्चा छ, त्यति नै उनको प्रेमिका डिम्पल चीमाको पनि। यी दुईको प्रेमकथा पछिल्लो समय उदाहरणीय बनिरहेको छ। फिल्म रिलिज भएपछि यसका निर्देशक तथा लेखकलाई डिम्पलको भूमिका निर्वाह गरिरहेकी कियारा एडवानीको सिन निकै कम रहेको गुनासो दर्शकले गरिरहेका छन्।
यसैबीच, फिल्मका स्क्रीनप्ले लेखेका सन्दीप श्रीवास्तवले यसबारे बोलेका छन्। उनले आफ्नो रिसर्चमा विक्रम र डिम्पलको प्रेमको अवधि निकै कम रहेको खुलाए। 'मैले फिल्मको लागि डिम्पलसँग पनि गफगाफ गरे, जहाँ मैले यी दुईको लभलाइफ निकै कम रहेको थाहा पाएँ', उनले भने।
विक्रम र डिम्पलले एकै कलेजमा अध्ययन गरे पनि यी दुईले एक अर्कालाइ प्रेम इजहार गरेपछि ४० दिन मात्र साथ बिताएका थिए। 'प्रेम व्यक्त भएपछी विक्रमले आफ्नो उदेश्य परिवर्तन गर्न खोज्यो , यद्दपी उ परिवर्तन हुन् सकेन' सन्दीप भन्छन् ,'यसै कारण यी दुइको प्रेम अवधि ४० दिनमात्र रह्यो।' सानैदेखि दूरदर्शन च्यानलमा 'परम वीरचक्र' हेरेर हुर्किएका विक्रमले आफ्ना भाइ विशालसँग आफू सिपाही बन्ने जिकिर गरिरहन्छन्।
ठूलो भएपछि पनि उही सोचका साथ अगाडि बढिरहेका विक्रमको योजनालाई डिम्पलको प्रेमले केहि अल्मल्याउन खोज्छ। यद्यपि, सानै देखिको योजनानुसार नै उनी सेनामा भर्ती हुन्छन्। त्यसपछि घर आउँदा उनले एकपटक गुरुद्वारामा डिम्पलसँग ख्यालख्यालमै विवाहसमेत गरेका हुन्छन्। यसैकारण हुन् सक्छ, विक्रमले संसार सन् १९९९ मै छाडेपनि डिम्पल अझै उनकै मायामा छिन्।
यो समयको डिजिटल युगमा पनि डिम्पल विक्रमको प्रेममा छिन्। फिल्मको क्यारेक्टरको लागि कियाराले पनि डिम्पलसँग भेट गरेकी थिइन्। एक घण्टाको समय लिएर सुरु भएको कुराकानी चार घण्टासम्म चलेको थियो। उनी एक्लै बस्छिन् र शिक्षण पेशामा छिन्। विक्रमको शवलाई स-सम्मान घर ल्याउँदा अन्तिमपटक हेर्नसमेत नपाएकी डिम्पलले उनलाई श्रीमान मानेकी छिन्।
उनी आफुलाई विक्रमकै 'अंश' भन्न रुचाउछिन्। उनी बाहिरी संसारभन्दा छुट्टै दुनियाँमा छिन्। ४० दिनको प्रेम सामिप्यतालाई विक्रमको विदाइसँगै विदा नगरी डिम्पलले अमर बनाएकी छिन्। विक्रमको भूमिका निर्वाह गरेका फौजी सिद्धार्थ मल्होत्राले फिल्ममार्फत वीरताको कथा देखाएका छन्। एउटा वीरको प्रेमकथाले अहिले सबैको मन जितिरहेको छ। न्युज कारखाना