कोरोना भाइरस महामारीका कारण ठप्प मनोरञ्जन क्षेत्र विस्तारै चलायमान बन्दैछ। जिल्ला प्रशासन कार्यालय काठमाडौं पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ।
बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सुटिङका लागि नेपाल आउने भएका छन्। उनी बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण गर्ने ‘उचाइ’ फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन्।
सुरज बडजात्याको निर्देशनमा तयार हुने फिल्ममा मित्रताको कथा देखाइने छ। फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ।
अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउने सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री व्हिलर्स फिल्म्सका सुरज आचार्यले बताए। उनकै कम्पनीले विगत तीन वर्षदेखि भारतीय फिल्म कम्पनीसँग कुराकानी अगाडी बढाएको थियो।
‘यो प्रोजेक्टका लागि तयारी थलिएको लामो समय भइसकेको छ। उहाँहरु एकपटक आएर बुझेर फर्किसक्नुभएको छ,’ लाइन प्रोड्युसर आचार्यले भने, ‘मैले बारम्बार नेपालमा पनि विदेशको झैँ लोकेसन छ भनेर बलिउडका फिल्मकर्मीलाई भन्ने गरेको थिएँ, फिल्मको काम कोरोनाले गर्दा केही समय ढिलो भयो।’
सुरजले राजश्री फिल्म्सले नेपालमा छायांकन सकेसंगै बलिउडबाट अन्य धेरै फिल्म छायांकनका लागि आउने संकेत गरे। ‘धेरै प्रोडक्सन हाउससँग कुराकानी भइरहेको, केवल खाँचो छ त सुरुवातको,’ उनले भने।
‘उचाइ’ फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी हुन्। यतिबेला सुरज र अरुण हिमाली भेगमा छायांकनका लागि लोकेसन हेर्न ट्रेकिङ गाइड तिलकराम राईसँग पुगेका छन्।
फिल्मको छायांकन मनाङ, मुस्ताङ, लुक्लालगायतका हिमाली भेगमा र काठमाडौंको आसपासमा पनि हुनेछ। ‘हामीले काठमाडौंमा छायांकन गर्दा पनि नेपाली पर्यटनलाई टेवा पुग्ने लोकेसन छानेका छौं,’ प्रोडक्सन म्यानेजर रेग्मीले भने।
उनले स्वयम्भू, बौद्धलगायतका स्थान छानिएको बताए। ‘हामीले सिनको डिमान्डअनुसारको लोकेसन छानेका छौं र लोकेसन फाइनल गर्न आउने टोलीलाई देखाउने छौं,’ अरुणले भने।
फिल्ममा डैनी डेन्जोंगपाको पनि मुख्य भूमिका रहनेछ। चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ। फिल्मको छायांकन हिमाली भेगमा हुँदा त्यसले पर्यटनमा टेवा पुर्याउने ट्रेकिङ गाइड तिलकराम राईले बताए।
‘मैले धेरै पर्यटकलाई घुमाएको छु, त्यसैले गर्दा विश्व लोभिने लोकेसन सजेस्ट गर्नेछु,’ तिलकले भने। उनले हिमाली भेगको लोकेसन सुझाइरहेका छन्।न्युज कारखाना