'दि भ्वाइस अफ नेपाल सिजन–३'का प्रतियोगी आर्यान तामाङ र तारा श्रीस मगरको पहिलो गीत ‘मायाको चौघेरो’ सार्वजनिक भएको छ। शुक्रबार एक पत्रकार भेटघाट कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीतमा युवा गायक तथा सङ्गीतकार जोसेफ शाही ठकुरीको शब्दरसंगीत रहेको छ। त्यस्तै, म्युजिक एरेन्जर तथा गायक विषम आचार्यको संगीत संयोजन रहेको छ। ‘ए वन म्युजिसियन स्टुडियो’मा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका छन्।
गीतको भिडियोमा पछिल्लो समयका चर्चित मोडल सरोज राना प्रजा, विना राउत लगायतको नृत्यसहितको अभिनय देख्न सकिन्छ। विनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहानी गीतको भिडियोमा समेटिएको छ। गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन्।
भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने बसन्त कुँवरको छायाङ्कन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन्।