मन्त्रीमा के छ त्यस्तो ?

प्रेम आले एमालेको माधव नेपाल समूहमा थिए। मन्त्री हुन केपी अ‍ोली निकट भए र ओलीले पहिलो पटक संसद् विघटन गरेपछि २०७७ पुस १० मा मन्त्री पनि भए। ओलीले उनलाई जेठ २१ मा हटाए। त्यसपछि ओलीसँग बिच्किए।

साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिए। अहिले नेपाल नेतृत्वको पार्टी नेकपा (एस)मै फर्किएका उनी मन्त्री बन्न लविङ गरिरहेका छन्।

कृष्णकुमार श्रेष्ठ ‘किसान’, जो ओलीका आज्ञाकारी पात्रका रूपमा चिनिन्थे। महेश बस्नेतसँग निकट सम्बन्ध पनि थियो। २०७७ वैशाखमा जसपाका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण शैलीमा काठमाडौं ल्याउनसमेत प्रयोग भए।

तनहुँका ठूलै व्यवसायीसमेत रहेका श्रेष्ठ ओली सरकार ढाल्नमा सक्रिय भए। ओलीले मन्त्री बनाएनन्। त्यसपछि मन्त्रीकै लागि नेपाल नेतृत्वको पार्टी नेकपा(एस)मा गए। उनी पनि मन्त्री हुने लाइनमा छन्।

ओली नेतृत्वमा सरकार गठनदेखि नै रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए। तत्कालीन नेकपामा माओवादी कोटाबाट लेखराज भट्ट पनि मन्त्री बने।  पुस ५ मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्ष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका सबै मन्त्रीले राजीनामा दिए। तर, थापा र भट्ट ओली सरकारमा बसिरहे। अझ उनीहरूकै पहलमा मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझी, मणिचन्द्र थापा, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा थपिए। २०७७ फागुनमा नेकपा खारेज भएर एमाले र माओवादी केन्द्र ब्युँतिए। तर, उनीहरू एमालेमै बसे। मन्त्रीकै लोभमा माओवादी केन्द्रमा नफर्किएको  आरोप लाग्ने गरेको छ। 

प्रकाशित मिति: : 2021-09-06 07:04:00

प्रतिकृया दिनुहोस्