यस्ता छन् टुसा उमारिएको गेडागुडी खाँनुका फाइदा 

टुसा उमारिएको गेडागुडीलाई क्वाँटी भन्ने गरिन्छ। हरेक बर्ष आउँने जनै पूर्णिमामा क्वाँटी खाने चलन पनि चल्दै आएको छ। क्वाँटी  जनै पूर्णिमामा मात्र नभई अन्य समयमा पनि खान सकिन्छ।

धार्मिक मात्र नभई स्वास्थ्यको दृष्टिले क्वाँटी निकै फाइदाजनक छ। क्वाँटी नौ थरी गेडागुडी मिसाएर तयार गरिन्छ, जसमा चना, मस्यांङ, मुगी, बोडी, मास, भटमास, सीमी, ठूलो केराउ, सानो केराउ पर्दछन।

यसलाई ३–४ दिन पानीमा भिजाएर त्यसमा टुसा उम्रिएपछि त्यसलाई झोलिलो बनाएर पकाएर खाने गरिन्छ। यसको सेवनले स्वास्थ्यलाई धेरै फाइदा गर्छ। यसलाई दिनहुँ काँचै खानु पनि राम्रो मानिन्छ। काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।

गेडागुडीहरुमा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ। प्रोटिन हाम्रो शरीरमा आवश्यक पदार्थ हो जसले रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउछ। टुसा उम्रिएको क्वाँटीमा फाइबर पनि पाइन्छ।

फाइबरले पाचन प्रणाली, मुटुरोग, मधुमेह, क्यान्सर र तौल घटाउन सहयोग गर्छ। त्यति मात्र होइन क्वाँटीमा पाइने फाइबरले कब्जियत, पाइल्स आदि समस्याहरु हुनबाट बचाउँछ। क्वाँटीलाई हाम्रो शरीरले सजिलै पचाउन सहयोग गर्छ।

महिलाहरूमा महिनावारी रोकिएपछि हुने हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, स्तन क्यान्सर जस्ता समस्याला पनि यसले नियन्त्रण गर्छ। बालबालिकालाई पनि क्वाँटीको झोल खुवाउनु धेरै राम्रो हुन्छ। प्रोटिनको कमीबाट बालबालिकामा हुने कुपोषणमा क्वाँटी खुवाएमा त्यसबाट चाँडो रोग निको हुने गर्छ। 

प्रकाशित मिति: : 2021-09-13 20:51:00

प्रतिकृया दिनुहोस्