किसानका समस्या समाधानकाे माग राख्दै आईटी आर्मीको किसान मोर्चाले बुझायाे प्रशानमा ज्ञापनपत्र

किसानको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ। किसानले राखेका बुँदागत मागहरु पूरा गर्न जिल्ला प्रशासन मार्फत् प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरबारमा सोही ज्ञापनपत्र बुझाइएको हो।

किसानका तर्फबाट प्रदेश नं. २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्टराईलाई सोही पत्र बुझाएका हुन्। किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै गत बुधबार किसानले रौतहटमा प्रदर्शन गरेका थिए।

नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आश्रित रहे पनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको र अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलसमेत दिन नसकेको किसानहरुको आरोप रहेकाे छ। सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार हजारौँ ट्याक्टरसहित किसानहरु सडकमा उत्रिएका थिए।

धान बालिको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए। रौतहटका बजारहरुमा यूरिया मलको अभाव भएपछि भारतीय बजारहरुबाट खेतिका लागि मल ल्याउदा सीमानामा सुरक्षाकर्मीले खोसेपछि खेती गर्न समस्या भएको किसानको गुनासो छ।

किसानलाई पेन्सनको व्यवस्था, अन्न दातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध, प्रयाप्त मलखाद्य विऊविजनको तुरुन्त व्यवस्था, भूमिहिनलाई जग्गा र किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्थाको माँग गर्दै आइटी आर्मीको किसान मोर्चाले ज्ञापनपत्र बुझाएको हो।

जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा जाने पूर्व सांसद कुशवाहाले बताए। छिटोभन्दा छिटो किसानहरुको माग पूरा नभए किसानहरू सशक्त आन्दोलनमा उत्रिने समेत कुशवाहाले चेतावनी दिएका छन्।

नेपाल सरकारले पर्याप्तमात्रामा कुनै पनि मलखादको व्यवस्था नगर्ने तथा कृषकले आफैले समेत अन्य मुलुकबाट ल्याउँदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा किसान पीडित भएका छन। समयमा पानी नपर्ने, बालि लगाएपछि बाढी आउने, बालि हुर्कने बेला मल नपाउने, बैंकले किसानलाई ऋृणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने कारण कयौं किसानहरुले बिस्तारै पेशा परिवर्तन गर्न थालेका छन।

सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिँदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरु बताउछन्। किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई अवगत गराउन आन्दोलनमा उत्रिएको प्रदेश सभा सदस्य कुशवाहाले बताए।

प्रकाशित मिति: : 2021-09-14 16:52:00

प्रतिकृया दिनुहोस्