‘गभर्मेन्ट सटडाउन’, सरकारसँग तीन विकल्प

हिमाल खबर

काठमाडौँ

संवैधानिक व्यवस्था अनुसार, तोकिएको समयमा बजेट पारित नभएपछि मुलुक बजेटविहीन भएको छ । यसबाट पार पाउन सरकारसँग के छन् विकल्प?

तोकिएको समयमा बजेट पारित नभएका कारण ३० भदौ रातिबाट सरकारी कोषको रकम खर्च गर्न नमिल्ने भएको छ। बजेट प्रणाली शुरू भएपछि मुलुक ‘गभर्मेन्ट सटडाउन’ (बजेटविहीन)को अवस्थामा पुगेको यो पहिलो पटक हो। प्रतिनिधि सभाले बजेट सम्बन्धी प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि नियमित र आकस्मिक खर्च समेत अबको केही घण्टामा रोकिंदै छ।

सरकारले नियमित प्रक्रियाबाटै बजेट पारित गर्ने तयारी गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। २९ भदौको प्रतिनिधि सभा बैठकपछि अर्थमन्त्री शर्माले सञ्चार माध्यमलाई प्रतिक्रिया दिंदै भने, “केही दिन मात्रै खर्च गर्न नमिल्ने भएकोले मुलुकमा ठूलो प्रभाव पर्दैन।” अब मुलुकको खर्च कसरी चल्छ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ‘हिजो जसरी चलेको थियो त्यसरी नै’ भन्ने जवाफ दिएर पन्छिए।

सरकारी कोषमा रहेको रकम चलाउन नमिल्ने गम्भीर अवस्थामा पुग्न नदिन सरकारले पर्याप्त तयारी गरेको देखिएन। सरकारले बजेटमाथिको अनिश्चय कायम राखेरै दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन वर्षे अधिवेशन हठात् अन्त्य गरेको थियो। प्रतिस्थापन विधेयकको तयारीको नाममा सरकारले झण्डै दुई महीना अलमल गर्दाको परिणाम देश बजेटविहीन अवस्थामा पुगेको हो। अर्कातिर, प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पनि बजेटजस्तो गम्भीर विषयलाई राजनीतिक दाउपेचको माध्यम बनाएर संसद्‌मा अवरोध गर्‍यो।

प्रकाशित मिति: : 2021-09-15 21:59:00

प्रतिकृया दिनुहोस्