लोप हुन थाले मिथिलाका लोकबाजा

फाइल तस्वीर
फाइल तस्वीर

मिथिलाको पौराणिककालदेखि व्यक्तिहरूको मनोरञ्जनको साधनको रूपमा रहेको लोकबाजाहरू विस्तारै लोप हुन थालेको छ। लोकबाजाहरू लोप हुन थालेपछि कलाकारहरू कामविहीन हुन थालेका छन्।

पछिल्लो समय मिथिलाको लोकबाजाको रूपमा रहेको रसनचौकीलाई छाडेर ब्यान्ड, डिजे लगायतका बाजा अहिलेका युवा पुस्ताले रुचाउन थालेपछि रसनचौकीे लोपोन्मुख अवस्थामा पुगेको हो। ब्यान्ड तथा डिजे लगायतका बाजाहरूतर्फ अहिले युवा वर्गको आकर्षण बढेपछि रसनचौकी बजाउनेको आम्दानी दिन प्रतिदिन घट्दै जाँदा मिथिलाको यो लोक वाद्ययन्त्र लोपोन्मुख अवस्थामा पुगेको हो।

मिथिलामा विवाह, मुण्डन, व्रतबन्ध (उपनायन)लगायत दशैँ, छठसहितको पर्वमा रसनचौकी वाद्ययन्त्र बजाउने परम्परा थियो। तर, अहिले यस्ता बाजाहरूको साटो विभिन्न पर्व तथा अन्य कार्यक्रममा ब्यान्ड बाजाले स्थान ओगटेपछि  रसनचौकी बजाउने कलाकारहरूको संख्यामा पनि दिनानुदिन कमि आएको छ।

रसनचौकी लगायतका मिथिला क्षेत्रमा बजाइने बाजालाई जातीयतासँग जोडिएको हुनाले युवाहरूमा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका लोकबाजाप्रति युवाहरूमा वितृष्णा जागेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धीरेन्द्र प्रेमर्षिले बताए।

प्रेमर्षिका अनुसार मिथिलामा वाद्ययन्त्र बजाउनु तथा संगीत विधालाई सम्मानित विधाको रूपमा लिइन्थ्यो। तर, कालान्तरमा गएर यो पेसालाई जातियतासँग मात्रै जोडिएपछि लोक वाद्ययन्त्रहरूको दुर्दशा सुरु भयो।

मिथिला क्षेत्रमा रसनचौकी, पिपही, दुग्गी, तासा, ढोल लगायतका वाद्ययन्त्रहरू चमार जातिले बजाउने गर्छन्। वाद्ययन्त्र बजाउने पेसालाई तल्लोस्तरमा राखेर हेर्न थालिएको र बजनाउनेहरूमा पनि हिनताको भावना पैदा भएकाले चमार जातिका युवाहरूसमेत अन्य पेशामा रमाउन थालेका छन्।

लोकबाजा बजाउँदै आएका धनुषाका धनौजी गाँउपालिकाका रोशन रामले मनोरञ्जनका लागि मात्रै अब रसनचौकी बजाउने गरेको बताए। उनले रसनचौकी बजाएर जीविका नचल्ने भएपछि बाध्यतावश आधुनिक बाजा बजाउनु परेको बताए।

अर्का रसनचौकी बजाउने देवेन्द्र महराले गाउँमा रहेको मिथिलाविहारी मन्दिरमा बेलुका आरतीको बेला मात्र रसनचौकी बजाउने गरेको बताए। उनले रसनचौकी बजाएर जीविका चलाउन नसकिने भएपछि परिवार चलाउन विकल्प खोज्नु परेको बताए।

रसनचौकी लगायतका वाद्ययन्त्रलाई पुनर्र्जीवित पार्नका लागि युवाहरूलाई अगाडि आउनु आवश्यक रहेको प्राज्ञ प्रेमर्षि बताउँछन्। युवाहरूले ब्यान्ड निर्माण गरी मिथिलाको लोकबाजासहित लोकगीतहरूको संरक्षणतर्फ अगाडि आएमात्रै यसको संरक्षण गर्न सकिने उनको बुझाइ छ।

प्रदेश २ सरकारले ढोल, पीपही, डम्फा, झाल, डमरु, सारंगी, घुना तिसि, करताल, सिंग्हासहित परम्परागत बाजा संरक्षण गर्ने नीति लिएको छ।

प्रकाशित मिति: : 2021-09-17 16:48:00

प्रतिकृया दिनुहोस्