भद्रपुर नाका खुलाउन दवाव

विगत १८ महिनादेखि बन्द रहेको भद्रपुर नाका खुलाउन यहाँका संघसंस्थाले सरकारलाई दबाबसँगै निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ। नेपाल–भारत मैत्री संघ झापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भद्रपुर नाका सहज बनाउन ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष प्रदीपमणि रेग्मीले नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलामार्फत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्। अध्यक्ष रेग्मीले भद्रपुर नाका सहज बनाउनु पर्ने माग राख्दै काँग्रेस नेता सिटौलासँग सोमबार फोनमा कुराकानी गरेका थिए। नेता सिटौलाले सो कुरालाई सकारात्मक रूप लिँदै आफू पनि नाका खुलाउने विषयमा लागि परेको र प्रधानमन्त्री देउवालाई समेत आग्रह गर्ने बताएको अध्यक्ष रेग्मीले जानकारी दिए।

यसअघि नाका खुलाउने विषयमा झापा उद्योग वाणिज्य संघ र झापा उद्योग संघले जिल्ला प्रशासन कार्यालय झापामा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकेको छ। कोभिड १९ महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ साल चैत ११ गतेदेखि भद्रपुर नाकाबाट आवतजावत पूर्ण रुपमा रोक लगाएको छ।

भद्रपुर नाकाबाट भारतबाट आउने ढुवानीका सरसामानमा भने कुनै रोक लगाएको छैन। सरकारले ३७ करोड लगानी गरेर भद्रपुर–गलगलिया सीमा जोड्ने मेची नदीमा पक्की पुल बनाएको छ। लामो समयदेखि सीमा नाका बन्द हुँदा मेची पुलको उपयोग गर्न यहाँका जनतालाई सरकारले वञ्चित गराएको छ। खोप कार्ड र पिसीआर रिपोर्टको आधारमा कम्तीमा अतिआवश्यक कामका लागि भारत जाने व्यवस्था यही नाकाबाट मिलाइदिन यहाँका जनताले बारम्बार आवाज उठाइरहेका छन्।

प्रकाशित मिति: : 2021-09-21 08:41:00

प्रतिकृया दिनुहोस्