नैतिकता बिर्सिँदै नेता– भाषण हो कि 'गालीपुराण' ?

लोकान्तर

काठमाडाैं

कपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिए पछिका हरेकजसो भाषणमा आफ्ना विपक्षी नेताहरूप्रति आगो ओकलिरहेका छन्। उनले हरेक भाषणमा गालीको वर्षा गरिरहेका छन्।

पूर्वप्रधानमन्त्री ओलीको भाषणको निशानामा मुख्यगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पर्ने गरेका छन्।

केहीअघि उनले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई पनि गाली गर्न भ्याएका थिए। भाषणमा विपक्षी नेतालाई गाली गर्न ओली मात्रै होइन अरू नेता पनि उत्तिकै माहिर छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि मौका पर्दा प्रतिस्पर्धी नेतालाई गाली गर्न पछि पर्दैनन्।

गालीयुक्त भाषणमा उत्तिकै रमाउने अर्का नेता हुन्, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई । उनको भाषणमा पनि प्रचण्डदेखि केपी ओलीसम्मलाई गाली गरिएको, लाञ्छना लगाइएको हुन्छ।

भाषणमा तथ्य राखेर तर्क प्रस्तुत गर्ने, विचारको बहस र मन्थन गर्ने र कार्यकर्तालाई तर्कयुक्त बहसमा प्रेरित गर्ने नेताहरू कमै छन्। दोस्रो, तेस्रो पुस्ताका नेताहरू समेत अग्रजलाई अनुसरण गर्दै गालीयुक्त भाषणमा रमाइरहेको देखिन्छ। 

प्रकाशित मिति: : 2021-09-21 17:11:00

प्रतिकृया दिनुहोस्