ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण: राजनीतिक प्रतिशोध साँधेर झुटा मुद्दा चलाइयो 

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन्।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध साँधेर झुटा मुद्दा चलाएको आरोप लगाए।

उनले अख्तियारले छानीछानी मुद्दा चलाउने काम गरेको आरोप लगाए। ‘छानीछानी मुद्दा चलाइएको छ। काखा र पाखा गरिएको छ। राजनीतिक पूर्वाग्रहका आधारमा मेरो राजनीतिक चरित्र समाप्त गर्ने षड्यन्त्र भएको छ’, गच्छदारले भने।

गच्छदारले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काममात्र आफूले गरेको बताए।

‘प्रधानमन्त्री निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुपहिले नै सुरू भएको हो। तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ’, गच्छदारले भने, ‘मन्त्रिपरिषद्को सामूहिक निर्णयको विषयमा सम्बन्धित मन्त्रीले मन्त्रिपरिषद्‍मा फाइल लगेकै भरमा मुद्दा चलाइनु गलत छ। मलाई मुद्दा लगायर कसैकसैलाई चोख्याउने काम भएको छ।’

प्रकाशित मिति: : 2021-09-22 14:46:00

प्रतिकृया दिनुहोस्