मनकामना एकता फाउन्डेसनलाई राजदूतावासले दियो प्रशंसापत्र 

बिएल संवाददाता

नयाँदिल्ली

भारतको मुम्बईस्थित नेपालीहरुको संस्था मनकामना एकता फाउन्डेसनलाई १२ असोजमा नयाँदिल्लीस्थित नेपाली राजदूतावासले प्रशंसापत्र प्रदान गरेको छ।

भारतमा रहेका नेपालीहरुको समस्याको सहजीकरण र कोभिड १९ को महामारीका बेला फाउन्डेसनले पु-याएको संस्थागत सहयोगको उच्च मुल्याकंन गर्दै संस्थालाई सम्मान गरिएको राजदूतावासले  प्रदान गरेको  प्रशंसापत्रमा जनाइएको छ।

२०७१ (सन् २०१४) मा स्थापना भएपछि फाउन्डेसनले नेपालीहरुबीच भाइचारा अभिवृद्धि गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ।

कोभिड महामारीका समयमा रोजगारी गुमाएर समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न लगायतका सहयोग गर्ने काममा फाउन्डेसन सक्रिय रुपमा लागेको थियो।

राजदूतावासले संस्थालाई प्रदान गरेको प्रशंसापत्र ग्रहण गर्न संस्थाका सल्लाहकार एवं पूर्व सभापति शालीग्राम तिवारी, वर्तमान सभापति मोतीलाल न्यौपाने, महासचिव केशवराज काफ्ले, कोषाध्यक्ष खडक खत्री, संगठन सचिव मिनप्रसाद भण्डारी र संस्थाका दिल्लीस्थित प्रतिनिधि पुरनप्रसाद गैह्रे उपस्थिति थिए।

सोही अवसरमा फाउन्डेसनका प्रतिनिधिले मुम्बइ नजिकै भिवन्डीमा आगलागीमा परेर ज्यान गुमाएका ७ र घाइते भएका ३  नेपालीका  बारेमा राजदूतावासको ध्यानाकर्षण गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए।

सो आगलागीमा परेकाका परिवार र घाइते कसैले पनि अहिलेसम्म क्षतिपूर्ति पाउन सकेका छैनन्। यसका बारेमा अदालतमा मुद्दा दायर गरिएको भए पनि प्रत्यक्षदर्शीको अभाव देखाउँदै यो मुद्दा खारेज गरिएको थियो। यो विषयलाई फाउन्डेसनले सक्रियतापूर्वक उठाउँदै आएको छ।

प्रकाशित मिति: : 2021-09-30 17:54:00

प्रतिकृया दिनुहोस्