रविसँग ५ करोड बिगो माग, मा‌‌ओवादीलाई प्रधानमन्त्रीको धम्की! (भिडियाे समाचार)

नेकपा माओवादीका नेता वर्षमान पुनले माओवादीलाई प्रधानमन्त्रीबाटै धम्की आइरहेको बताएका छन्।

आइतबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै सांसद पुनले आफूहरूलाई प्रधानमन्त्री र गठबन्धनका माथिल्लो तहबाटै निरन्तर धम्कीहरू आइरहेको बताएका हुन्।

सरकार पक्षबाट धम्कीहरू आइरहे पनि माओवादी नडराएको उनकाे दाबी थियाे। 

भिडियो-

000

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता भएको हो।

लामिछानेसहित २९ जनालाई प्रतिवादी बनाइएको यो सहकारीको १ अर्ब ३२ करोड ४६ लाख १२ हजार रुपैयाँ अपचलन भएको दाबी गर्दै मुद्दा दायर भएको छ।

यसअघि प्रहरीले १४ वैशाखमै अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय पर्सामा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

000

सरकारले इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित रहेको जानकारी दिएको छ। 

इसराइल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमपछि परराष्ट्र मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको हो।

सरकारले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियाली रहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।  

000

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बंगलादेशमा विद्युत् व्यापारबाट मासिक २५ करोड भन्दा बढी आम्दानी हुने बताएका छन्।

ऊर्जा मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरि मासिक २५ करोड भन्दा बढी आम्दानी गरि पाँच महिनामा एक अर्ब २५ करोड भन्दा बढी आम्दानी हुने बताएका हुन्।

दक्षिण एसियाबाट तेस्रो मुलुक बिजुली निर्यात गर्ने पहिलो देश नेपाल भएको र बंगलादेशसँग पहिलो पटक विद्युत् व्यावसायिक रूपमा विक्री सुरु हुनु देश र जनताको लागि निकै गर्व र खुसीको कुरा भएको खड्काकाे भनाइ थियाे। 

000

यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने यू–२० दक्षिण एसियाली फुटबल सङ्घ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका छन्।

उक्त प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले आइतबार दोस्रो चरणको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई आउट गर्दै ३० खेलाडी छनोट गरेका हुन्। 

बन्द प्रशिक्षणबाट छनोट हुने खेलाडीमा अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, बिर्साना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, लीला जोशी, मनीषा सेन, माया मास्के, मीना देउवा र कविता गुरुङ छन् ।

प्रकाशित मिति: : 2025-06-15 21:02:00

प्रतिकृया दिनुहोस्