अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ। काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो। उनले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका थिए। यद्यपि, भिडियो भने मंगलबार मात्र छायांकन गरिएको थियो।
गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनीशा पौडेलले साथ दिएका छन्। नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत वेभ स्टुडियोमा रेकर्ड गरिएको हो। सार्वजनिक गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन्।
हमालले यसअघि शिव रेग्मी निर्देशित ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही सम्वाद बोलेका थिए। पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शक र स्रोताको साथ पाउने विश्वास उनको छ।