जग्गा मठमन्दिरको, हालीमुहाली महन्तको

अन्नपूर्ण पोष्ट

गोविन्द महतो

जनकपुरधामस्थित रत्नसागर राज गुठीको जग्गा २०२६ सालको सर्भे नापीले ८० बिगाहा देखाएको थियो। तर, त्यसयता ५५ बिघाजति रत्नसागर मठका महन्त र नापीका कर्मचारीसँगको मिलेमतोमा विभिन्न व्यक्तिले हडपेको पाइएको छ। 

‘रत्नसागरका पुराना महन्तको नक्कली मनखपको कागज तयारी गरी सम्पूर्ण जग्गा आफ्नो नाममा गराएको देखिन्छ’, उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०६२ मा लेखिएको छ। बृहत्तर जनकपुर क्षेत्रअन्तर्गत जनकपुर नगरपालिकाभित्र रहेका पोखरी, डिल, रामजानकीलगायत प्रमुख मन्दिरहरू तथा गुठी जग्गा संरक्षण र व्यवस्थापनका लागि सिफारिस गर्न उक्त कार्यदल बनाइएको थियो। 

प्रतिवेदनअनुसार जनकपुर नगरपालिकाका तत्कालीन मेयर वृशेष चन्द्रलाल, धनुषाका तत्कालीन प्रहरी प्रमुख (एसपी) विश्व जबरा र ब्रम्हचारी रामबाबुलगायतले गुठीको जमिन कब्जा गरेका छन्। पूर्वमा राधे मण्डल, बीचमा शिव झा र पश्चिमतिर नीलाम्बर साहलाई बिक्री गरी बिभिन्न व्यक्ति घर बनाई बसेका छन्। 

तत्कालीन एसपी जबरादेखि, दुःखी पाण्डे, कामेश्वर पाण्डेले आफ्नो भोग चलन देखाई पुनरावेदन अदालतबाट मुद्दा जितेको दाबी गरेको जनाइएको छ। शीतल सिंह, रामदुलारी शरण, रामविहारी शरण, शिया शरणले सर्वोच्चबाट मुद्दा हारे पनि अतिक्रमित जग्गा छाडेका छैनन्। तत्कालीन राजाका नातेदार कुमारखड्ग विक्रमलाई भने २०४४ सालमा गुठीले नै निर्णय गरी १० बिघा दिएको जनाइएको छ। मणिपाल अस्पतालले १७ बिघा वर्षको ७० हजार भाडामा लिएको छ। रत्नसागरका तत्कालीन महन्त वैकुण्ठ दास ‘वैष्णव’ले मनोमानी मनखप बनाई यहाँको जमिन बेचबिखन गरी बसेको बस्तीको नाम वैकुण्ठपुरी राखिएको छ। 

प्रकाशित मिति: : 2021-11-14 08:06:00

प्रतिकृया दिनुहोस्