प्रदेशसभामा सबैलाई मन्त्री नै मन्त्री देख्छु: शंकर पोखरेल 

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रमुख विपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले प्रदेशसभामा सबै मन्त्री नै मन्त्री देखिने बताएका छन्।

आइतबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै अस्वभाविक रुपमा प्रदेशमा मन्त्रीमण्डल विस्तार गरेको तर्फ इंगित गर्दै उनले भने, ‘म त प्रदेशसभामा मन्त्री नै मन्त्री देख्छु, माननीय ज्यूहरुको अनुहारमा पनि मन्त्री नै देखिन थालिसक्यो।’

पोखरेलले गठबन्धन टिकाउनका लागि १७ जनाको मन्त्रीमण्डल बनाउनु त्रुटीपूर्ण रहेको दाबी गरे। कानुन बमाेजिम भएपनि आफ्नो सरकारको पालामा प्रदेशसभा सदस्यको १० प्रतिशतको मात्र मन्त्री बनाउने सहमति भएको भन्दै उनले गठबन्धनलाई टिकाउन १७ सदस्यीय मन्त्रीमण्डल बनाएर गरिएको त्रुटीलाई सच्याउन पनि आग्रह गरे।

‘हामीले गर्न खोजेको त प्रदेशसभाको माध्यमबाट संघीयताको औचित्य पुष्टि गर्ने हो। यसरी संघीयताको औचित्य पुष्टि हुँदैन। औचित्य पुष्टि गर्ने हो भने यो त्रुटीलाई सच्याउनु जरुरी छ। यो मैले आलोचना गर्नका लागि मात्र भनेको होइन। कम्तिमा थिति बसान्नुस भन्ने हो।’ पोखरेलले भने।

उनले अहिलेका मन्त्री, मन्त्री जस्ता छन्? के मन्त्रालय मन्त्रालय जस्ता छन् भन्दै प्रश्न पनि गरे।  उनले अगाडी भने, ‘तपाईंहरुले के गर्नु भएको छ भन्ने कुरा मैले बुझ्न भ्याएकाे छैन। जुन प्रकारको मन्त्रालय छ। कर्मचारीको व्यवस्थापन कसरी भयो होला? के कर्मचारी प्रशासन प्राप्त भएको छ ? मन्त्री मन्त्री जस्ता हुनुहुन्छ? मन्त्रालय मन्त्रालय जस्ता छन्? यसले के हुन्छ भने सरकार प्रतिको जनताको विश्वसनै टुट्ने आधार बनायौँ।’

यसैबीच नेता पोखरेलल सांसद अजय शाही र विमला खत्री वलीबारे निर्वाचन आयोगले निर्णय नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिने पनि बताए। ‘अजय शाही र विमला खत्री वली कुन दलका हुन् भनेर प्रमाणित गर्ने निर्वाचन आयोगले हो, आफैँले म यो दलको भनेर भन्ने कुनै कानुनी आधार छैन,’ उनले भने, ‘कानूनको व्याख्या गर्ने अधिकार प्रदेशसभा र सरकारलाई छैन।’

एमालेले हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री रहेका सांसद वली र शाहीलाई आफ्नो सांसद दाबी गर्दै प्रदेशसभा चल्न दिएको छैन। तर शाहीले आफू स्वतन्त्र राजनीतिक समूहको रहेको र वलीले आफू तत्कालिन नेकपाबाट निर्वाचित भएको भन्दै पार्टी विभाजनपछि नेकपा माओवादी केन्द्र रोजेको बताएकी छन्।

प्रकाशित मिति: : 2021-11-14 17:18:00

प्रतिकृया दिनुहोस्