नक्कली भुटानी शरणार्थी प्रकरण

अमेरिकामा एफबीआईद्वारा केही अगुवा भुटानी शरणार्थीलाई सोधपुछ

बिएल संवाददाता

वासिङ्टन डीसी

नेपालमा उत्पति भै अमेरिकासँग जोडिएको नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकी सरकारको संघीय जाँच ब्यूरो (एफबीआई)ले जाँच पड्ताल सुरू गरेको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको दक्षिण पूर्वी एसिया हेर्ने एक अधिकारीका अनुसार एफबीआईले अमेरिका पुनर्बासमा आएका केही अगुवा भुटानी शरणार्थीहरूलाई आफूसँग आएका शरणार्थीहरूका बारेमा सोधपुछ थालेको जानकारी आफूसम्म आइपुगेको बताए ।

एफबीआईका एक अधिकारीले जाँचपड्ताल सुरू गरेको नबताए पनि अमेरिकाका लागि यो एक गम्भीर विषय भएको बताउँदै यसबारेमा एफबीआईको ध्यानाकृष्ट भएको बताए । उनले मानव ओसारपसार र बेचविखनजस्तो जघन्य अपराधसँग सम्बन्धित यस विषयमा अमेरिका जोडिनु दर्भाग्यपूर्ण भएको बताउँदै यस्तो विषयमा अमेरिका चुप लागेर बस्न नसक्ने बताए ।

नेपालमा भुटानी शरणार्थी शिविरको क्याम्प सेक्रेटरी रहिसकेका एक अगुवा भुटानी शरणार्थीले आफूलाई सोधपुछ गरेको स्विकार गरे । तर, उनले एफबीआई अधिकारीले यस बारेमा अनुसन्धान जारी रहेकाले बाहिर  कुरा गर्न नसक्ने बताए । 

नाम उल्लेख नगर्ने शर्तमा उनले भने, 'एफबीआई अधिकारीले आफूसँग तपाईंले नचिनेका क्याम्प बाहिरका कोही मानिस तपाईंसँग आएका थिए भनेर सोधे ?'  

यस क्रममा मैले नचिनेका र भुटानी शरणार्थी क्याम्पमा त्यस्तो थर नभएका मानिसको केही नामका बारेमा पनि सोधेको बताउँदै उनले भने 'मैले त्यस्तो थरिका मानिस शरणार्थी क्याम्पमा नभएको बताएँ।'

'तपाईंको विचारमा नेपालीहरू नक्कली भुटानी भएर आएका थिए त ? भन्ने प्रश्नको उत्तरमा उनले भने, 'मलाई पनि त्यस्तो त लाग्छ । त्यतिबेला हामीलाई क्याम्पका हटमा रोलकल गर्दै आईओएमका गाडीमा राखिएको थियो । तर, केही अपरिचित मान्छे भने आइओएमको अफिसबाटै गाडीमा चढेका थिए।'

उनले युएनएचसीआर, आईओएम, शरणार्थी क्याम्पमा काम गर्ने आइएनजीओका नेपाली स्टाफ र शरणार्थी व्यवस्थापन गर्ने गृहमन्त्रालयका स्टाफ मिलेर केही आफ्ना मान्छे हालेको हुन सक्ने आशंका गरे ।  

एफबीआईका अधिकारीलाई आफूले त्यसबारेमा जानकारी दिएको बताउँदै उनले भने, ' मैले त्यतिबेला त्यहाँ काम गर्ने नेपाली स्टाफलाई सोधे सबै थाहा हुने बताएँ।'

अमेरिका पुनर्बासमा आएका अधिकांश अगुवा भुटानी शरणार्थीहरू आफूसँगै नेपालीहरू पनि नक्कली भुटानी शरणार्थी बनेर आएको बताउँछन् ।  तर, को आयो ?, कति आए? भनेर सोध्यो भने त्यसको जवाफ उनीहरूसँग छैन । 

नेपालमा भुटानी शरणार्थीका सर्वोच्च नेता टेकनाथ रिजाल पक्राउ गरिएपछि अमेरिका पुनर्बासमा आएका भुटानी शरणार्थीहरू नेपालीसँग रूष्ट देखिएका छन् । यही क्रममा केही भुटानी शरणार्थीले आफूसँगै भुटानी शरणार्थी बनेर आएका केही नेपालीको नाम एफबीआईलाई दिइसकेको पनि बताइदैछ । एकजना अगुवा भुटानी शरणार्थीले यस बारेमा ब्रेक एन लिंक्सलाई भने, ' हाम्रो नेतालाई फसाएपछि हामी पनि चुप लाग्ने कुरा हुँदैन ।'

 

प्रकाशित मिति: : 2023-05-26 17:46:00

प्रतिकृया दिनुहोस्