मोरङमा दुई पक्षबीच झगडा हुँदा एक जनाको हत्या 

Symbolic photo
Symbolic photo

मोरङको बूढीगङ्गामा आइतबार राति मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा एक जनाको हत्या भएको छ।

दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका २६ वर्षीय रिजन दाहालको हत्या भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

उनका अनुसार घटनामा धनकुटा देव्रेबासका २२ वर्षीय कमल थापा र मोरङको बूढीगङ्गा गाउँपालिका–६ कोयलपुर नानु लिम्बू घाइते भएका छन्।

नानु लिम्बूको भतिजीको बर्थ–डे’ (जन्मदिन)को अवसरमा घरमै आयोजित पार्टीमा आएर मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद भएको हो।त्यही विवादले झगडाको रूप लिँदा मानवीय क्षति नै हुने घटना निम्तिएको प्रहरीले जनाएको छ।

डिएसपी श्रेष्ठका अनुसार बूढीगङ्गा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहाल र थापाको विवाद भएको पाइएको छ। विवादपछि दाहाललाई नानुको घरदेखि अलि पर लगेर एउटा समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ।

टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जानकारी श्रेष्ठले दिए।

शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ। घटना छुट्याउन गएका थापा र नानुमाथि पनि खुकुरी प्रहार गरिएको छ। दुवै जनाको हातमा चोट रहेको श्रेष्ठले बताए।

हत्या गरिएका दाहाल र घाइते थापा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै जना खनारस्थित रिलायन्स धागो उद्योगमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुई पक्षबीच के कारणले विवाद भएको थियोभन्ने खुल्न बाँकी रहेको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आक्रमणमा संलग्नहरु लागुऔषधका दुव्र्यसनी भएको खुलेको छ।

घटनापछि प्रहरीले दुई युवालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्नता यकिन हुन नसकेको भन्दै पक्राउ परेकाहरुको विवरण प्रहरीले खुलाएको छैन। घटनापछि फरार रहेकाहरुको खोजी तीव्र पार्दै घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठको भनाइ छ।

बर्थ–डे पार्टीमा मदिरा सेवन गरेका युवाहरुबीच विवाद हुँदा मानवीय क्षति निम्तिने घटना भएको वडाध्यक्ष दिलिप चौधरीले बताए। उनका अनुसार मदिराको नसामा रहेका युवाहरुबीच खुकुरी हानाहान हुँदा ज्यानै जाने घटना भएको हो।

प्रकाशित मिति: : 2021-11-15 14:58:00

प्रतिकृया दिनुहोस्