काँग्रेसको नेतृत्व गर्छु भन्ने शेखर कोइरालाले कमिलाको जत्रो छाती बनाएः अमृत अर्याल

नेपाली काँग्रेस मोरङको सम्पन्न महाधिवेशनमा पराजित भएको संस्थापन समूहले पार्टीमा गलत प्रवृत्ति हावी भएको आरोप लगाएको छ। निर्वाचन परिणाम सार्वजनिक भएलगतै बुधबार बिहान विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीको आन्तरिक निर्वाचनमा शक्ति, पैसा र अनैतिक ढंगको व्यवहार प्रदर्शन गरिएको टिप्पणी गरेका हुन्। 

केन्द्रीय सदस्य  अर्यालले शक्ति र सामथ्र्य अगाडि पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन खोज्नेहरुलाई योजनाबद्धरुपमा पराजित गराइएको धारणा राखेका हुन्।

क्रियाशील सदस्यता वितरणबाट सुरु भएको षड्यन्त्र निर्वाचनस्थल कब्जा गर्नेदेखि लामो समय पार्टी राजनीतिमा योगदान गरेकाहरुलाई वडातहमै हराउनका लागि ठूलो धनराशि खर्च गर्नेसम्मका गतिविधिले भएको अर्यालले बताए। पछिल्ला गतिविधिले नेपाली काँग्रेसलाई कमजोर बनाएको र आन्तरिक प्रतिष्पर्धालाई स्वस्थ बनाउने प्रयत्नमा बाधा पुगेको बताए। उनले यस प्रकारको प्रवृत्तिले पार्टीको हित नगर्ने र आगामी दिनमा आउँदै गरेको स्थानीय तह र अन्य निर्वाचनहरुमा पनि क्षति हुनसक्ने चिन्ता व्यक्त गरे।

नेपाली काँग्रेस मोरङको सम्पन्न निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार दिलिप गच्छदार पराजित भएका थिए। काँग्रेस नेता डा। शेखर कोइराला समर्थित समूहका उम्मेदवार डिकबहादुर लिम्बू निर्वाचित भए। नेपाली काँग्रेसको सभापतिको दाबी गर्दै आएका डा। कोइरालाले जिल्लामा एउटा समूहलाई पूर्णरुपमा निषेध गरेर गुटको मात्र नेतृत्व गर्न खोजेको भन्दै अर्यालले देशकै नेतृत्व गर्छु, पुरा काँग्रेसको नेतृत्व गर्छुभन्ने नेताले कमिलाको जत्रो छाती बनाए र गुटगत प्रवृत्तिका साथ व्यवहार गरे।

संस्थापन समूहको तर्फबाट करिव एक हजार मत लिएर २५ सय मत भएको समूहसँग प्रतिष्पर्धा गरेको भन्दै अर्यालले तीन जना केन्द्रीय सदस्यहरुले सहमतिको नाममा आफूलाई तीनदिनसम्म अल्मल्याएका कारण पनि चुनाबी परिणाम अस्वभाविक आएको दाबी गरे।

आफूहरु पार्टीभित्र गुटका आधारमा लामो योगदान भएका नेताहरुलाई अपमान गर्ने र उनीहरुलाई भूमिकाविहीन बनाएर जान नहुने पक्षमा रहेको पनि बताए।
पत्रकार सम्मेलनमा नेता अर्यालले प्रदेशको नेतृत्व पनि सहमतिका आधारमा अघि बढाउने पक्षमा आफूहरु रहेको बताएका छन्। संस्थापन इतर पक्षले उम्मेदवारी घोषणा गरिसकेपनि सहमति बनाउन भोलिसम्म कुर्ने उनले बताए।

‘हामी भोलिसम्म सहमतिको प्रयास गर्छौं, भोलिसाँझसम्म सहमति बनेन भने हामीले उम्मेदवारीको विषयमा एउटा निर्णय लिन्छौं।’ प्रदेश १ मा संस्थापन पक्षले ७ वटा जिल्लामा सभापति जितेको छ भने कोइराला पक्षले पनि ७ वटै जिल्ला जितेको छ। झापा जिल्लामा भने कृष्णप्रसाद सिटौला पक्षधर समूहले सभापति जितेको छ।

प्रकाशित मिति: : 2021-12-01 17:21:00

प्रतिकृया दिनुहोस्