जितपछि लिङ्देनले भने: जुन बाटाेबाट राजसंस्था छिटाे फर्काउन सकिन्छ त्यही बाटाे अपनाउँछाैँ

तेजन खड्का

काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जुन बाटाेबाट राजसंस्था छिटाे फर्काउन सकिन्छ त्यही बाटाे अपनाउँने बताएका छन्। राप्रपाकाे अध्यक्षमा विजय भएपछि बिएल नेपाली सेवासँग संक्षिप्त कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्। 

उनले ६ महिनाभित्रमा राप्रपाबाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ, संगठन र पार्टीहरुलाई एकताबद्ध गरेर लैजाने बताए।

‘राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरुलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ। र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ,’ उनले भने।

लिङ्देनले आफ्नाे पार्टीको कमी कमजोरी सच्चाएर काँग्रेस, कम्युनिस्ट पार्टीको विकल्प मात्रै होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए।

‘हाम्रो पार्टीकाे ३१ वर्षको इतिहासमा हाम्रो पार्टी खिइदै–खिइदै कम्जोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कम्जोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रुपमा समेत छैन। विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौँ। एकीकरण गरेको दुई वर्ष वित्दा पनि हाम्रा नेताहरुले पार्टीमा सुधार र विकासका कुनै संकेतहरु देखाउनु भएन। यो बीचमा ठूला–ठूला राष्ट्रिय मुद्दाहरु र घटनाहरु भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन। त्यस्तो अकर्मण्य मात्रै भएन, बरु उहाँहरु झगडा गरेर बस्नुभयो।’

मतदाताहरूलाई आभार प्रकट गर्दै उनले अब ठूला–ठूला राष्ट्रिय मुद्दाहरु र घटनाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी काहाँ थियाे भनेर खाेज्ने दिन नआउने बताए।

प्रकाशित मिति: : 2021-12-05 11:55:00

प्रतिकृया दिनुहोस्