अमेरिकाको क्यालिफोर्नियामा २०७९ बैशाख १ गते 'ज्योमो गाङ फिल्म अवार्ड' को दोस्रो संस्करण आयोजना गरिने भएको छ।
हुकुम मल्टिमिडिया प्रा.लि.ले बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराएको हो।
नेपालको आदिवासी जनजाति मातृभाषामा निर्माण भएका चलचित्रको प्रवर्द्धन गर्ने उदेश्यका साथ हुकम मल्टिमिडिया प्रा.लि.ले विगत केही बर्षदेखि 'ज्योमो गाङ फिल्म अवार्ड ' को आयोजना गर्दै आइरहेको छ।
कम्पनीले २०७६ माघ ८ गतेका दिन थाइल्याण्डको पटैयास्थित पहिलो पटक 'ज्योमो गाङ फिल्म आवार्ड' भव्यताका साथ सम्पन्न गरेको थियो।
प्रत्येक वर्ष निरन्तर अवार्ड आयोजना गर्दै जाने कम्पनीको लक्ष्य रहे पनि विश्वव्यापी महामारीको रुप लिएको कोभिड-१९ का कारण बिचको वर्षहरुमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराएको छ।
'अब भने विस्तारै चलचित्र निर्माण, प्रदर्शनलगायत विभिन्न गतिविधिहरु चलायमान हुदैँछन्। अब सबैतिर सक्रिय गराउँदै चलचित्र क्षेत्रलाई चलायमान बनाउनु आवश्यक छ,' हुकुम मल्टिमिडिया प्रा.लि. का अध्यक्ष धन बहादुर बम्जन (डि.बि) ले भने।
अध्यक्ष बम्जनले नेपालका सम्पूर्ण आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरुलाई चलचित्र उपलब्ध गराई सहयोग गरिदिन आह्वानसमेत गरेका छन्।
पत्रकार सम्मेलनमा बोल्दै कलाकार संघका पूर्वमहासचिव एंव अभिनेत्री सरिता लामिछानेले अवार्ड निष्पक्ष हुनुपर्नेमा जोड दिइन्। त्यसैगरी बरिष्ठ चलचित्र निर्देशक ॠषि लामिछानेले यस्तो खालको अवार्डले जनजातिको संस्कार जोगाउन थप टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा सम्बोधन गर्दै आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले यस्ता अवार्डले मातृभाषाको रक्षाको निम्ती सहयोग पुग्ने बताए।
त्यसैगरी चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले फिल्म टुरिजममा जोड दिन सरकारसँग आग्रह गरेका छन्।
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले चलचित्र हेर्न दर्शकहरु हलमा आउनु पर्ने र हलहरु सेफ जोनमा रहेको बताए।
कार्यक्रममा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति चलचित्र महासंघलगायत विभिन्न संघसंस्थाको सहकार्य रहनेछ। त्यसैगरी अमेरिकाको स्थानीय व्यवस्थापनमा द वर्ल्ड नेपाल न्युज र ८८४८ पिक्चर्स डट कमलगायत विभिन्न संघसंस्थासँग सहकार्य रहेको छ।
यस अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, चलचित्र, निर्देशक, छायांकन, सम्पादनलगायत विभिन्न १३ बिधामा अवार्ड वितरण गरिनेछ। आदिवासी जनजाति चलचित्र महांघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यलयबाट फारम वितरण शुरु गरिएको छ।