पौडेल मृत्यु प्रकरण: दोषीलाई कार्वाहीको माग गर्दै घोराहीमा प्रदर्शन  

दाङको घोराहीस्थित एक होटेलमा जन्मदिन मनाउन गएका गणेश पौडेलको मृत्यु भएको घटनालाई लिएर प्रदर्शन भएको छ।

घोराही-१७ गुलरियाका २२ पौडेलको मृत्यु भएको घटनालाई लिएर आइतबार दाङ भ्याली कलेजका विद्यार्थी र मृतक पौडेलका आफन्तले प्रदर्शन गरेका हुन्।

बिहीबार साथीहरुसँग जन्मदिन मनाउन होटेलमा गएका पौडेल बिहान मृत अवस्थामा फेला परेका थिए। उनको मृत्यु शंकास्पद भएको भन्दै घोराहीमा प्रदर्शन भएको हो।

‘हत्यारालाई फाँसी दे, झुटो बयान बन्द गर, साँचो बयान छिटो बोल, घटनाको निष्पक्ष छानविन गर, घुस खान पाइँदैनलगायतका नारा लगाउँदै घोराहीको मेन रोड हुँदै जिल्ला प्रहरी कार्यालयसम्म प्रदर्शन भएको थियो।

पौडेलका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन घोराही-१५ परिवार नियोजन संघदेखि डिके पेट्रोल पम्प जाने बाटोमा रहेको फ्रेण्डस फेम्ली होटेल एण्ड लजमा गएका थिए।

प्रहरीले होटल सञ्चालक लंक बुढाथोकीसहित जन्मदिन मनाउन गएका अन्य १२ जनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।

पौडेलको टाउकोमा गहिरो चोट भएका कारण मृत्यु शंकास्पद लागेको र पौडेलका घर परिवारले घटनापछि उनको हत्या भएको आशंकामा प्रहरीमा जाहेरी दिएपछि उनका साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको थियो।

प्रहरीका अनुसार पक्राउ परेका युवाहरुले भने मदिरा सेवनपछि पौडेल छतबाट खसेर अचेत भएको भन्ने बयान प्रहरीसमक्ष दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-05 16:28:00

प्रतिकृया दिनुहोस्