के गरिरहेका छन् गोविन्दराज जोशी अचेल?

आयोमेल

काठमाडौँ

नेपाली कांग्रेस यतिखेर १४ औं महाधिवेशनको संघारमा छ। केन्द्रीय नेतृत्वमा नेताहरुको माथापच्ची जारी छ। यहीबेला पार्टीमा ५ दशकभन्दा बढी समय बिताएका एक नेता भने जिल्लामा घरदैलोमा व्यस्त छन्। २०७७ साउन १० गते पार्टीको साधारण सदस्यतासमेत नरहने गरी ५ वर्षका लागि निस्कासित नेता गोविन्दराज जोशी गृहजिल्ला तनहुँमा जनताबीच छन्। यही मंसिर १२ देखि २५ गतेसम्म जिल्ला भ्रमणको दोस्रो चरणको कार्यक्रममा व्यस्त रहेका जोशीको यो अभियानको उद्धेश्य हो–अब आउने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा चुनाव लड्नु।

‘मसित अब २ वटा विकल्प बाँकी छन्,’ क्षेत्र नम्बर १ स्थित व्यास नगरपालिकाको एउटा कार्यक्रममा आफ्ना समर्थकमाझ उनले केही दिनअघि भने, ‘एउटा राजनीति छाड्ने, अर्को जनताको टिकटबाट चुनाव लड्ने। योभन्दा अर्को विकल्प छैन।’

उनले स्वतन्त्र रुपमा चुनाव लड्ने घोषणा गत कात्तिक ३० गते आफ्नो फेसबुकमार्फत् गरेका थिए। त्यसमा उनले भनेका छन्, ‘सम्पूर्ण १ नम्बर क्षेत्रका कांग्रेस, एमाले, समाजवादी पार्टी, माओवादी, राप्रपा, अरु राजनीतिक पार्टीमा आबद्ध साथीहरुले यसपालि मलाई जिताउनुहुन अनुरोध गर्दछु।’ उनको यो घोषणाले उनी नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट टाढिने संकेत देखिएको छ। उनले १ नम्बर क्षेत्रमा परेका सम्पूर्ण समस्यालाई राजनीतिक विचारधारामा आधारित चश्माले नहेर्ने उल्लेख गर्दै यसको संकेत गरेका छन्।
 

प्रकाशित मिति: : 2021-12-06 16:42:00

प्रतिकृया दिनुहोस्