पूर्वराजालाई कमल थापाको प्रश्न– 'राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने?'

file photo
file photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले शतप्रतिशत राजावादीहरुको पार्टी राप्रपा महाधिवेशनमा समेत हस्तक्षेप गरेकाले अब आफूहरूलाई राजाबाट प्रजातन्त्रमाथि हस्तक्षेप हुँदैन भन्न नसक्ने अवस्थामा पुर्याएको बताएका छन्।

राप्रपा अध्यक्षमा पराजित भएको दुई दिनपछि पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका नेता थापाले निर्मल निवासका गतिविधिबारे थप मुख खोलेका हुन्।

'पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवाञ्छित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको छ', उनले भनेका छन्, 'अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसंग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ।'

थापाले एक विज्ञप्तिमार्फत् भनेका छन्, 'विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने? अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो। म नैतिक र धर्मसंकटमा परेको छु।'

नेता थापाले पूर्वराजा ज्ञानेन्द्रले राप्रपालाई भजनमण्डली बनाउने प्रयास गरेको पनि आरोप लगाएका छन्।

'देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई 'भजन मण्डली' बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ। राप्रपालाई 'भजन मण्डली' बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौँ। राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपाभित्र बहस सुरू हुनेछ।'

नेता थापाले भनेका छन्, 'राप्रपा केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु। फेरि यो पहिलो घटना होइन।'

नेता थापाले '२०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मलनिवासबाट बारम्बार हुँदै आएको' पनि आरोप लगाएका छन्। उनले भनेका छन्, 'मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझी दिन सबैमा विनम्र आग्रह गर्दछु।'

थापाले विज्ञप्तिमा राप्रपा महाधिवेशन सफल तुल्याउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका छन्। महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेनलगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ति शुभकामना पनि दिएका छन्।

उनले महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको  बताउँदै विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको पिन उल्लेख गरेका छन्।

अध्यक्ष पदमा पराजयका बाबजुद पनि पार्टी एकताको पक्षमा आफ्नो निरन्तर सकारात्मक सहयोग रहने बताउँदै उनले भनेका छन्, 'एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरोलागि कुनै अर्थ राख्दैन। हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ।'

प्रकाशित मिति: : 2021-12-07 17:44:00

प्रतिकृया दिनुहोस्