लेखक, साहित्यकार, पत्रकार घनेन्द्र ओझाद्वारा लिखित 'जनताको बहुदलीय जनवाद: फरक बहस' र 'असमान पहाडहरू' कवितासङ्ग्रहमाथि अन्तर्क्रिया सम्पन्न भएको छ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दुवै पुस्तक सार्वजनिक पनि गरिन्।
'जनताको बहुदलीय जनवाद: फरक बहस'माथि टिप्पणी गर्दै लेखक निलमकुमार ओझाले यस पुस्तकमा घनेन्द्रले नेपाली राजनीतिमा ७ दशकदेखि टुट-फुटको शृंखलाले थिलथिलो भएको कम्युनिस्ट आन्दोलनको चिरफार गरेको बताए। साथै, यस पुस्तकमा नेपाली राजनीतिको केन्द्रमा ३ दशकदेखि निरन्तर रहेको नेकपा एमालेको मार्गदर्शन भनिएको जबजको कार्यान्वयनमा देखिएका कमजोरीबारे पनि मिहीन ढंगले केलाएको उनको भनाइ थियो।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य अमृत तिमल्सिनाले जबजभित्रका कम्युनिस्टविरोधी पक्षबारे उल्लेख गर्दै नेकपा एमाले र नेपाली कम्युनिस्ट आन्दोलनलाई परिमार्जन गर्न लेखक ओझाले पुस्तकमार्फत सुझाव दिएको बताए। उनले यस पुस्तकलाई 'गाली महात्म्य'का रूपमा मात्र नहेरेर आलोचनात्मक सुझावका रूपमा पनि लिन सकिने उल्लेख गरे।
नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कम्युनिस्ट आदर्श र जबजबीच मेल नखाने भन्दै लेखक ओझाले पुस्तकमा त्यही तथ्यलाई केलाएको बताए
'असमान पहाडहरू' कवितासङ्ग्रहबारे टिप्पणी गर्दै डा. बालाकृष्ण अधिकारीले घनेन्द्रको बहुआयामिक व्यक्तित्व भएको र उनको काव्यकारिता पनि सशक्त रहेको बताए। डा. अधिकारीले सरल र बोधगम्य भाषा, शैलीमा समसामयिक र मनवीय जीवनका यावत् पक्षलाई कविले आफ्ना कवितामा सशक्त ढंगले प्रस्तुत गरेका उल्लेख गरे।
समालोचक डा. ज्ञानु पाण्डेले कविताप्रतिको प्रस्ट दृष्टिकोण भएका घनेन्द्रको कविता रचना पनि प्रस्ट भएको बताइन्। उनले कवितासङ्ग्रहका कविताहरूमा दार्शनिक अभिव्यक्ति सरल तरिकाले गरिएको भन्दै यो कवितासङ्ग्रह नेपाली काव्य फाँटको सुन्दर उपलब्धि भएको धारणा राखिन्।
नेपाल प्रज्ञाप्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले घनेन्द्र वामइतर विचारधारामा विश्वास गर्ने भए पनि उनका कवितामा प्रशस्त प्रगतिशीलता पाइने उल्लेख गरे। जीवनका निराश पक्षसँगै आशावादिता र समुन्नत समाजको परिकल्पना घनेन्द्रका कवितामा पाइने पौडेलको भनाइ थियो।
लेखक ओझाले आफू साहित्यमा र राजनीतिमा पनि रुचि राख्ने भएकाले साहित्य सिर्जनासँगै राजनीतिक विश्लेषणमा सक्रिय रहेको बताए। २०४९ सालयता नेपाली राजनीतिमा साह्रै धेरै चर्चामा रहेको जबजबारे अध्ययन गर्दा जबज नेपाली कम्युनिस्ट आन्दोलनको सहायक नभएर बाधक भएको देखिएपछि यो पुस्तक लेख्नुपरेको ओझाको भनाइ थियो।
प्रमुख अतिथि शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जबजबारे विभिन्न कोणबाट एमालेभित्रै बहस भइरहेका र अहिले नेकपा (एस)मा पनि यसबारे बहस चलिरहेको बताइन्। उनले जबजको सान्दर्भिकतामाथि प्रश्न उठिरहेका बेला ओझाको जबजबारे आलोचनात्मक पुस्तक आएको उल्लेख गरिन्।