३८ क्विन्टल सुन तस्करीको आरोप लागेकाहरुले कसरी पाए सफाइ ?

अनलाइनखबर

काठमाडौँ

जिल्ला अदालत, मोरङले चर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा हचुवाको भरमा आरोप–पत्र दायर भएको निष्कर्ष निकालेको छ। सुन तस्करका भरिया सनम शाक्यको हत्यामा ६ जनालाई जन्मकैद गरेको जिल्ला अदालत, मोरङले सुन तस्करी भएको वस्तुनिष्ठ प्रमाण फेला पर्न नसकेको ठहर गरेको हो।

अदालतले तस्करी भएको भनिएको सुन बरामद हुन नसकेको, हचुवाको भरमा आरोप–पत्र दर्ता भएको र प्रमाणको रुपमा पेश गरिएको रजिष्ट्रर दुविधाजनक रहेको बताउँदै सुन तस्करीमा संलग्न ५६ जनालाई सफाइ पनि दिएको छ।

सरकारी दावी अनुसार ३८ क्विन्टल सुन तस्करी त टाढाको कुरा, आरोपितहरुले अमूर्त रुपमा स्विकारेको साढे ३३ किलो सुन तस्करीलाई अदालतले स्वीकारेको छैन। फैसलामा भनिएको छ, ‘केवल अनुमान र आशंकाको भरमा अभियोग लगाइएको देखिन्छ।’ न्यायाधीश भरत लम्सालले तयार पारेर बिहीबार सार्वजनिक भएको फैसलाको पूर्णपाठमा सरकारी पक्षबाट सुन तस्करी भएको दावी भएपनि त्यसको पुष्टि हुने प्रमाण पेश गर्न नसकेको उल्लेख छ।

प्रकाशित मिति: : 2021-12-17 14:20:00

प्रतिकृया दिनुहोस्