‘अन्नपूर्ण पदमार्गका लागि हेलिकप्टर माफिया मुख्य समस्या’

Breaknlinks
Breaknlinks

विश्वकै चर्चित पदमार्ग हो, अन्नपूर्ण पदमार्ग (एबिसी)। दैनिक सयौं पदयात्री भित्रिने यो पदमार्ग झण्डै दुई वर्ष लामो लकडाउनपछि भर्खर खुलेको छ। लगभग पहिलेकै अवस्थाकै लय यहाँको पर्यटनले समाति सकेको छ। बाह्य मुलुकका पदयात्री कम भित्रिए पनि आन्तरिक पदयात्री पदमार्ग पुग्ने गरेका छन्।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने अन्नपूर्ण बेसक्याम्पको पर्यटन साथै चुनौतीका बारे साेही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङसँग बिएल नेपाली सेवाकाे लागि श्याम मगरले गरेकाे कुराकानी प्रस्तुत छ:


दुई वर्षसम्म लकडाउन भयो। यो समयमा के गर्नुभयो ?

लकडाउनले अन्नपूर्ण क्षेत्र एकदमै तहसनहस भयो। एउटा माखो पनि घुमने। सधैं यस्तै हुने हो कि भन्ने पनि लाग्यो।

पर्यटन सबै ठप्प भएपछि खेतीबालि भए पनि उब्जनी गर्नुपर्छ भनेर अभियान नै चलाएँ मैले। सबै खेतीबालि छोडेर ३०, ३५ वर्षदेखि पर्यटन क्षेत्रमा व्यस्त यहाँका स्थानीयले बाँझो खेतबारीमा धान, मकै, कोदो, सागपात, आलु, फापरको उत्पादन भयो। बाँझो जमिनको उपयोग पनि भयो र अर्गानिक खानेकुरा उत्पादन गरेर स्थानीय साथै होटल व्यवसायीले निर्वाह गरे।

सामान्य अवस्था हुन्थ्याे भने पर्यटककाे भरिभराउ हुने याम हो यो। तैं पनि सोधि हालेँ, पहिलेको तुलनामा पदयात्री कत्तिको आईरहेका छन् ?

एकदमै भरिभराउ हुने समय हो अरु बेलामा त। अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को चेकपोष्ट्मा नेपालीलाई नगनि ४ सय बढी पदयात्री एकै दिनमा भित्रिएको तथ्यांक पनि छ। २, ३ सय नेपाली हुन्थे। ५ देखि ६, ७ सय हाराहारीमा पदयात्री एकै दिनमा बेसक्याम्प छिर्थे। अपडाउन गर्दा भीड हुन्थ्यो। धेरै नै व्यस्त हुन्थ्यो।

लकडाउनले २ वर्ष एकदम जिरोमा पुग्यो। अहिले केही माथि उठेको छ। विदेशी केही मात्रामा छन्। हाम्रो नेपाली दाजुभाइ पनि घुमफिर गर्नुपर्छ भन्ने ट्रेण्ड आएको छ। नेपाली पदयात्रीहरु आईरहनु भएको छ।

अधिकांश क्षेत्रमा लकडाउनमा व्यवसायी पलायन भएका समाचारहरु आए। यो क्षेत्रका व्यवसायी पलायन हुनुपर्ने अवस्था आयो कि आएन ?

यहाँ त्यस्तो पलायनै हुनु परेन। पाहुना नै नआउदा कामदार राखि राख्न नसक्ने अवस्था आए पनि बन्द गरेर अरु व्यवसायी पलायन भएका छैनन्। नखुलेका केही होटल पनि कामदारको व्यवस्था गर्ने बित्तिकै खुल्ने तयारीमा छन्।

बेसक्याम्प क्षेत्रमा कति व्यवसायी छन् ?

मेरो वडामा १ सय ५० पर्यटन व्यवसायीहरु रहेको डाटा छ। साना ठूला गरेर।

मारमा परेका व्यवसायीलाई पूरानै लयमा फर्काउने विभिन्न कार्यक्रमहरु आएको सुनियो। तपाईंहरुले पाउनुभयो कि भएन ?

प्रदेश सरकार, संघ र आफ्नै पालिकाबाट केही योजना ल्याउने काम भयो। बजेट आए पनि यहाँ काम गर्ने मजदुर, दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने थियो। लकडाउनको समयमा त काम गर्ने मान्छे पनि बाहिरबाट ल्याउनु परेन। यहीका स्थानीय खटियौं। काम पनि निकै गुणस्तरिय भएको छ।

क्लबको ग्राउण्डदेखि बाटोघाटो, खानेपानी लगायत तारजालि लगाउने काम पनि स्थानीयहरुबाटै भयो। ती योजनाले पनि यहाँका स्थानीयलाई केही राहत भयो। अरु–अरु ठाउँमा राहत सामग्री बाँडियो। हामीले पनि बाँड्यौं। तर, राहत सामग्री नै बाँड्दा ठूलो परिमाणमा ल्याउनु पर्‍यो। त्यसले पुग्ने अवस्था पनि रहेन। सबैतिर ठप्प रहेको समयमा काम पाउँदा स्थानीयहरुलाई पनि सहज भयो। घर खर्च चल्यो।

अन्नपूर्ण क्षेत्रमा एकताका हेलिकप्टरको व्यवसायीक उडान पनि भएको सुनेका थियौं। पछि, स्थानीय सरकारले रोक पनि लगाएको थियो। अहिले के छ अवस्था ?

अन्नपूर्ण सेन्चुरी ट्रेक विश्वको दशौं नम्बरमा पर्छ। मैले अघि नै भनि सकें विदेशी पर्यटक मात्रै दिनमा ४ सय जना आउने गर्छन् सामान्य अवस्थामा। एकताका ४, ५ वटा हेलिकप्टर कम्पनीले दिनमा ८, ९ पटकसम्म उडान भरे। एकदमै बिजि एअरपोर्ट जस्तै भयो। हाम्रो ठाउँ पनि सानो छ। भूगोलले। त्यसको आवाजले टुरिष्टले यति धेरै गुनासो गरे, यो के भएको ? हामी आनन्द लिन आएको हो ठाउँमा। मनोरञ्जन लिन आएको हो। यस्तो पोलुसन त हाम्रै ठाउँमा छ नि। यो ठाउँमा के भएको यस्तो ? तिमीहरुले यसको व्यवस्थापन गर्न सक्दैनौं ? यो त अत्ति भयो। अबदेखि हामी आउदैनौं भन्ने खालका गुनासा पनि आए। अरु साथीहरुसँग पनि कम्प्लेन भयो। एक्यापमा पनि उजुरी परे।

त्यो मात्रै नभएर यो ठाउँमा अत्यन्तै दुर्लभ जनावरहरु पनि छन्। घोरल, हिउँचितुवा, डाँफेमुनाल लगायतका दुर्लभ जनावरहरु यहाँ पाइन्छ। एक्यापले संरक्षण गर्नुपर्छ भनेर अभियान लिएर आयो। त्यसमा हामी सबै जना लागि पर्‍यो। त्यो भन्दा पहिला त यि जनावरहरु थिएन।

जनावर हामीसँगै घुलमिल हुने। पर्यटकहरु यति खुसी हुन्थे, फोटो खिच्ने रमाउने पनि गरे। कस्तुरी सिकार गरेर त्यो लोप भईसकेको थियो। अहिले कस्तुरी प्रसस्त छन्।

तर, हेलिकप्टर उडाउन थालेपछि ति जनावर कहाँ गए ? थाहै छैन। हामीले खोजेर पनि पाउन छाड्यौं। यसको बहस चल्न थालेपछि म आफैं गएर सिडिओ कार्यालमा निवेदन दिएँ। यो अत्ति भयो भनेर हामीले बन्दै गर्‍यौं। पूर्णकालीन बन्द भने होइन। रेस्क्युका लागि टुरिष्ट, स्थानीय जो कोही बिरामी परे रेस्क्यु अनिवार्य गर्न पाइने हो। तर, एअरपोर्ट जस्तै बनाएर उडान गर्न नपाइने भनेर बकाइदा हामीलाई पनि पत्र पठाएको छ। हेलि कम्पनीलाई पनि पठाएको छ।

उडान रोक लगाएपछि धेरै कम्पनीहरुले उडान रोके। तर, एक दुई वटा कम्पनीले मै हुँ भनेर नियम तोडी उडान गरिरहेका छन्। घमण्ड गरिरहेका छन्। यहाँका संघ संस्थाहरुले यो भएन, बेसक्याम्प मै पुगेर हेलि झार्नुपर्छ, फुटाउनुपर्छ भनेर भनेका छन्। रेस्क्युका लागि त हामीले खुल्ला गरेका छौं।

भोलि उडान नै गर्नुपर्ने हो भने पनि दिनमा कति सम्म गर्ने ? त्यो पनि ठाउँ छ। तर, एक दुई जना माफियाहरु नेताको सोर्सफोर्स लगाएर जर्बजस्ति गर्न लागेको छ। यहाँको एकदमै गुनासो आएको छ। मलाई पनि दुख लागेको छ। भोलि भीडन्त हुने ठाउँ नआओस्। मेरो अनुरोध के हो भने, नियमको पालना होस्। उहाँहरु पनि अनुशासनमा रहनुहाेस् भन्ने चाहन्छु। यहाँको कामना पनि यही छ। स्थानीयको चाहना पनि यही छ। एकदमै प्रदुषण पनि बढाएको छ।

पूर्व मुख्यमन्त्री नै आएर 'साउण्ड पोलुसन' बन्द गर्नुपर्छ भनेर यहाँ अनुगमन पनि गर्नु भएको थियो। 'पोलुसन'कै कारण 'ग्लासियर' फुट्ने। चार घरमा ठूलो क्षति पनि भयो। पोलुसनले। हेलिकप्टरको भाइब्रेसनले बेसक्याम्पको आधा भाग भत्किसकेको छ।

पूरानो हिउँ जमेर कालो हिउँ बसेको हुन्छ। भाइब्रेसनले त्यो फुट्यो। करौडौंको क्षति पनि भयो। शुद्ध यो हेलिकप्टरको भाइब्रेसनले हो। यो एकदमै जोखिम छ।

त्यति मात्रै होइन, यहाँ गाइड, पोर्टरदेखि होटल व्यवसाय चलिरहेका छन्। हेलिकप्टर उडानले ग्राउण्ड लेभलसम्म असर पुर्‍याउँछ। पोलुसन (प्रदुषण) पनि भयो। संसारमै लोप जनावर कता पुगे कता ?

यो लकडाउनको अवधिमा उडान नहुँदा ति जनावर देखिन थालेका छन्। हेलिकप्टर नभए गाई, बाख्रा झैं ति जनावर तपाईंहरुसँग घुलमिल हुन्थें। तर, केही हेलिकप्टर व्यवसायीले अँटेर गरे।

एबिसी बचाई राख्न तपाईंहरुको पहल कस्तो छ ?

पहिलो त पोलुसन हुन नदिनु नै हो। जलमाफिया, हेलिमाफीया नै हाम्रा लागि पोलुसन हुन्। हामीले यो ठाउँमा पटेका पनि पड्काउन्नौं। हिमालयमा ड्याम बनाएर बत्ति निकाल्छौं भनेर केही माफीयाहरु लागि परेका छन्।

यसअघि होटल व्यवस्थापन समितिमा पनि म बसें। ४ कार्यकाल मैले चलाएँ। त्यसै बेलादेखि बत्ति निकाल्ने भनेर लागि परेका थिएँ। तर, त्यहाँबाट बिजुली निकाल्नु हुँदैन। किनभने हिमालकै छेउमा बम ब्लास्ट गरेपछि केही बाँकी रहन्छ? विश्वमै लोप हुन लागेका जनावर छन्। ६०, ७० मेगावटको बिजुली बत्ति उत्पादन त ठूलो हो। यो रोक्दा विकास विरोधी पनि देखिएला। तर, त्यसो होइन। यस्ता खोला यहाँ मात्रै होइन नि, नेपालमा कति छन् कति। त्यहाँ जानुस् न। बिजुली निकाल्न छोम्रोङ खोलासम्म पनि दिएका छौं। तर, छोम्रोङदेखि माथि हामीले साउण्ड पोलुसन ब्याण्ड गर्ने। हेलिकप्टर र बत्तिले त पोलुसन भयो।

अरु त के भने हामीले खच्चड पनि लैजान्नौं। खच्चडसँग अनेक किसिमका रोग हुन सक्छन्। भोलि जनावरसँग रोग सरे। त्यो रोग फैलिए सखापै हुन पनि सक्छ। अर्को, भारी बोक्ने कति मजदुर छन्। खच्चडले बोके केही सहुलियत त होला। तर, ती मजदुरको रोजगारी खोसिन्छ।

पहिला निगाला समात्दै, रसीमा झुडिँदै जाने बाटो हो यो। अहिले हाम्रै पहलमा होटल व्यवसायीसँग सहयोग उठाएर बाटो बनाएका छौं। करोडौं रुपैयाँ खर्च गरेका छौं।

अहिले त बेसक्याम्पमा जस्तो मान्छे पनि जान सक्छ। बाटो सजिलो छ। हामी सबै लागेका छौं।

छोम्रोङदेखि माथिपट्टीको भागमा राज्यको खास नजर नै छैन। राज्यसामु आवाज पुर्‍याउन नसक्नु हाम्रो पनि कमजोरी त होला। हामीले सक्ने आवाज उठाएका छौं। पूर्व पर्यटन मन्त्री रविन्द्र अधिकारीको पालमा ७०, ८० लाख रुपैयाँ बजेट बाटोका लागि छुट्याइएको थियो। त्यो नै पहिलो सरकारी बजेट पनि हो। गाउँपालिकाबाट पनि केही रकम छुट्याइएको त छ।

अहिले हामीलाई हिंकु केभमा पुलको आवश्यकता छ। मैले प्रदेश सरकारसामु माग पनि राखेको छु। तर, दुखको कुरा के भने सरकारले हाल्ने भनेर भनेको पनि थियो। सरकार फेरिई सक्यो। 

पहिलेको सरकारले रातो बुकमा समावेश गरेका योजना नयाँ सरकार आउने बित्तिकै काटिहाल्ने दुख लाग्दो कुरा हो। त्यो कस्तो ठाउँ भने त्यो ठाउँमा विगतमा धेरै दुर्घटना पनि भए। भाग्ने ठाउँ पनि छैन। दुर्घटनाग्रस्त क्षेत्र पनि हो त्यो। 

मौसमको पूर्व जानकारी दिने संयन्त्र छ कि छैन ?

कुरा चलिरहेको छ। त्यसको लागि पहिलो त नेटवर्क राम्रो चल्नुपर्ने रहेछ। राष्ट्रिय अविष्कार केन्द्रका महावीर पुनले एकदमै चासो लिईरहनु भएको छ। हाम्रै ठाउँका इन्जिनियर शुभ गुरुङले पनि निकै चासो लिनुभएको छ। केही गर्नुपर्छ भन्ने छ। तर, अहिलेसम्म आएको छैन।

प्रकाशित मिति: : 2021-12-20 18:15:00

प्रतिकृया दिनुहोस्