पक्की पुल हेर्दै झोलुंगे पुलबाट तर्दै

पक्की पुल बनेको चार महिना भयो, सञ्चालनमा आएन

पृथ्वीराजमार्गको फिस्लिङ र गण्डकी गाउँपालिका-६ भुम्लिचोक जोड्ने त्रिशुली नदीमाथिको पक्की पुल निर्माण सम्पन्न भएको चार महिना बित्यो, तर अहिलेसम्म सञ्चालनमा आएको छैन। पक्की पुल सञ्चालनमा नआएपछि गोरखातर्फ गाडी तार्न ३० किलोमिटर पर रहेको बेनिघाट पुग्नुपर्ने भएको छ। पैदल यात्रुहरु भनेसँगै रहेको झोलुंगेपुलको बाटो हिड्नु परेको छ। 

गत असोजमा पुल निर्माण सम्पन्न भएको हो तर ठेकेदार कम्पनी सपना कन्स्ट्रक्शनले पुलको मुखमा बाँसका तगरा तेर्स्याएर राखेको छ। कोही अटेरी गरी सो पुलबाट हिँडेमा रोक्न चौकीदारसमेत राखेको छ। ‘यहाँबाट गाडी तार्न नदिनू भनेर मलाई रेखदेख गर्ने जिम्मा लगाएको छ’, चौकीदार तुलबहादुर थापा भन्छन्, ‘राती म निदाएका बेला हिँडाए भने त थाहा हुँदैन तर अरुबेला मैले थाहा पाएसम्म यहाँबाट गाडी वारपार गर्न दिएको छैन।’ 
सो पुल गत असोजमा निर्माण सम्पन्न भएको हो। ‘दशैंअघि नै ढलान भइसकेको हो तर अहिलेसम्म चालु गरिएको छैन,’पुल जीपका बिमल श्रेष्ठले भने, ‘मान्छेहरु पक्की पुल हेर्दै झोलुंगेपुल तर्छन्, कोही जोखिम मोलेर झोलुंगे पुलबाट बाइक तार्छन्।’

प्रकाशित मिति: : 2021-12-24 11:34:00

प्रतिकृया दिनुहोस्