फिल्म ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ। म्युजिक नेपाल युट्युब च्यानलबाट केही समय अघि निर्माण टिमले टिजर सार्वजनिक गरेका हुन्।
चलचित्रलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन्। निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने खोजेको छ। ‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ। तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ। आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो’।
दिनेशले यसअघि फिल्म ‘बालकृष्ण सम:अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए। जुन काठमाडौँमा आयोजना हुने किम्फसँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो।
‘चिसो एस्ट्रे’मा दिव्य देव, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठलगायतको अभिनय रहेको छ। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन्। उज्जल बस्ताकोटीले छायाङ्कन गरेको ‘चिसो एस्ट्रे’लाई उज्ज्वल ढकालले सम्पादन गरेका छन्।