महाधिवेशन तोकिएपछि चौतारीमा लाग्यो चुनाव

तेजन खड्का

काठमाडौं

नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको मिति तोकिएसँगै नयाँ नेतृत्वका लागि आकांक्षीहरू दौडधुपमा लागेका छन्।

गत पुस १२ र १३ गते लुम्बिनीमा भएको चौतारीको केन्द्रीय कमिटी बैठकले आगामी माघ २२ र २३ गते गण्डकीको पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको थियो। चौतारीको भावी नेतृत्वमा वर्तमान नेतृत्व दोहोरिने सम्भावना कम हुँदै गएकाले पनि नयाँ नेतृत्वका लागि सरगर्मी शुरू भएको हो।

पार्टीका नेतृत्व र चौतारी नेतृत्वबीच सर्वसम्मति भएमा वर्तमान अध्यक्ष गणेश बस्नेतले एक कार्यकाल दोहोरिने इच्छा व्यक्त गरेपनि उनले सार्वजनिकरूपमा मुख खोलेका छैनन्। तर वर्तमान नेतृत्वका अन्य पदाधिकारीले भने आफ्को बढुवाका लागि उपयुक्त अवसरको खोजी गरिरहेका छन्।

एमालेबाट चौतारीको इञ्चार्जमा उप–महासचिव पृथ्वीसुब्बा गुरुङ तोकिएकाले उनले आफू निकट वा आफ्नो प्रदेशलाई मात्रै ध्यान नदिइ सफल कार्यकालका लागि देशभरका चौतारीकर्मीको भावना बुझेर नयाँ नेतृत्वका लागि कुनै हस्तक्षेप नगर्ने नीति लिएको बुझिएको छ।

सहमतिको प्रयासका लागि वर्तमान अध्यक्ष बस्नेत, पूर्व अध्यक्ष राजेन्द्र अर्याल, पूर्व महासचिव प्रमोद दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्य, वर्तमान वरिष्ठ उपाध्यक्ष माधव नेपाललगायतबाट अध्यक्ष चयन हुने सम्भावना देखिएको छ। केन्द्रीय सदस्य माधवप्रसाद तिवारीले यसअघि नै फेसबुकबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

वरिष्ठ उपाध्यक्षमा वर्तमान महिला उपाध्यक्ष टीका विष्ट, उपाध्यक्ष गणेश पाण्डे, पत्रकार दीपक पाण्डेलगायतले जिम्मेवारी पाउने देखिएको छ।

निर्वाचन भएमा महासचिवमा वर्तमान उपमहासचिव हीरामान लामा, कोषाध्यक्ष इन्द्र आचार्य, उपत्यका प्रदेशका इञ्चार्ज प्रकाश सिलवाल, केन्द्रीय सदस्य टीका बस्नेत, पूर्व केन्द्रीय सदस्य चेतन अधिकारीलगायतको प्रतिस्पर्धा हुने चर्चा छ।

कोषाध्यक्षमा प्रतिष्ठान इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट इञ्चार्ज रामेश्वर कार्की, केन्द्रीय सदस्य विष्णु तारुके, मोहराज शर्मालाई अघि सारिने जनाइएको छ।

चौतारीले महाधिवेशनमा विधान परिवर्तन गर्ने भएकाले कति पदाधिकारी हुने र पदाधिकारीमा उम्मेदवारीका लागि कस्तो मापदण्ड हुने भन्ने आधारमा पनि उम्मेदवारहरुको आकांक्षा व्यक्त हुने जनाइएको छ।

चौतारीको विधान बेलायतको संविधान जस्तो छ। केन्द्रीय सदस्यहरुका लागि महाधिवेशन प्रवेश शुल्क नै प्रतिव्यक्ति पाँच हजार तोकेको चौतारीले उम्मेदवारहरुका लागि पनि महँगो शुल्क तोकेमा कतिपय उम्मेदवार पछि हट्न सक्नेछन्। निर्वाचन नभई सकेसम्म सहमतिमा नेतृत्व चयनको परिपाटी चलाएको एमालेले जनसंगठनहरुको महाधिवेशन आगामी फागुन मसान्तभित्र गर्न निर्देशन दिएपछि सबैभन्दा पहिलो चौतारीले महाधिवेशन तोकेको छ।

गत २०७३ जेठमा भएको चौतारीको आठौँ महाधिवेशनबाट चयन भएको वर्तमान बस्नेत नेतृत्वको कार्यकाल यसअघि नै सकिए पनि पार्टी एकता र कोभिड—१९ का कारण मिति सर्दै आएको हो।

प्रकाशित मिति: : 2022-01-01 15:18:00

प्रतिकृया दिनुहोस्