राष्ट्रियसभाको चुनाव गठबन्धन दलले जित्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभाको चुनाव गठबन्धन दलले जित्ने जिकिर गरेका छन्।

नेता शेखर कोइरालाको गृहजिल्ला सुनसरी पुगेका महामन्त्री शर्माले मंगलबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्ताे बताएका हुन्।

राष्ट्रियसभाको चुनावमा मात्रै कि आउने चुनावमा पनि गठबन्धन कायमै हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले पास्नीको समयमा पास्नीको शुभकामना दिनुपर्ने बताए।

पास्नीमा गएर विवाहको शुभकामना दिन नहुने भन्दै उनले पछिको कुरा पछि नै हुने मात्रै बताए। उनले महाधिवेशन पछाडि सभापतिसमेत रहेका देउवा नेतृत्वको सरकारलाई काम गर्न थप ऊर्जा मिलेको बताए।

राष्ट्रियसभाको चुनावमा कांग्रेसलाई गठबन्धनसँग मिल्दा तीनवटा सिटमा फाइदा पुगेको शर्माले बताए।

पहिला तीनवटा सिटमा मात्रै कांग्रेसकाे भएकामा अन्य तीनवटा सिट पनि कांग्रेसका लागि फाइदा भएको उनले उल्लेख गरे। प्रदेश १ मा मात्रै एमालेसँग प्रतिस्पर्धा देखिएको बताउँदै उनले सातवटै प्रदेशमा गठबन्धन दलले चुनाव जित्नेसमेत दाबी गरे।

उनले सरकार महामारी नियन्त्रणमा सफल भएकाले अहिलेको सरकार सफल भएकोसमेत दाबी गरे।

महामन्त्री शर्मा राष्ट्रियसभाका सदस्य गोपाल बस्नेतको टिकट लिएर विराटनगर आएका हुन्। 

प्रकाशित मिति: : 2022-01-04 13:09:00

प्रतिकृया दिनुहोस्