वादी समुदायलाई नयाँ घर

बिएल संवाददाता

अर्घाखाँची
File Photo
File Photo

पैतीस वर्षसम्म जङ्गलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसी भएका छन्। गरिबीका कारण त्रिपालले छाएको छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीका बादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएपछि नयाँ घरमा बस्न पाउँदा उनीहरु खुशी भएका हुन्।

चुत्राबेँसीमा बस्दै आएका वादी समुदायका ११ घर परिवार र सोही ठाउँमै सँगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएपछि उनीहरु खुसी छन्। 'बर्खाको समय राति सुतिरहेको बेला पानी चुहिएर शरिर लुथ्रुक्कै भिजेको हुन्थ्यो, कति रात त पानी परेर ननिदाइकनै उज्यालो हुन्थ्यो', सन्धिखर्क–२ भद्रीखोलाकी लक्ष्मी वादीले भने,'कपडा  भिजेर अर्को कपडा फेरि रातभर जागराम बस्थ्यौँ अब त ढुक्क भएर रातभर सुत्न पाइने भयो, औधि खुसी लागेको छ।'

प्रदेश सरकारको मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत रु ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार रु ४३ लाख  ६८ हजार खर्चेर १३ घर निर्माण गरिएको प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले बताए। लामो समयदेखि कष्टकर जीवन बिताउन बाध्य भएका वादी समुदायको समस्या हल गर्न पाएकामा आफूलाई निकै आन्नदित महसुस गरेको नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम र जनता आवास दुवै कार्यक्रममार्फत आवासको व्यवस्थापन गरिएको हो। पक्की घर निर्माण गरेपछि उनीहरुलाई सजिलो भएको छ। उक्त घरपरिवारलाई सामूहिकरुपमा लालपुर्जासमेत प्रदान गरिएको नगर प्रमुख भुसालले बताए। 
 

प्रकाशित मिति: : 2022-01-06 10:55:00

प्रतिकृया दिनुहोस्