एमाले जुम्लाको ८ औं जिल्ला अविधेशन उद्घाटन

नेकपा एमाले जुम्लाको ८ औं जिल्ला अविधेशन उद्घाटन भएको छ। 

शुक्रबार उद्योग वाणिज्य संघको हलमा उद्घाटन सम्पन्न भएको नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गरेका थिए। 

एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेका जिल्लालाई सक्रिय गर्नका लागि एकै मितिमा अधिवेशन गरेको नेकपा एमाले जुम्लाले जनाएको छ।

अधिवशेनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रमुख अतिथी रतननाथ योगीले देशको भविष्य निर्माण गर्ने नेकपा एमालेप्रतिको जनलहरले राजनीतिक दिशा निर्देश गरेको बताए। 

'आगामी निर्वाचनमा नेकपा एमालेले जनताबाट जनमत प्राप्त गर्दै पहिलो पार्टी बन्नेछ' उनले भने, 'देशको विकास र समृद्धिको दिशामा पार्टी अघि बढेको छ। एमालेप्रति देशव्यापी रुपमा देखिएको जनलहरले अबको राजनीति बाटो तय हुनेछ। नेपाली जनताको आस्था र भरोसाको एउटै पार्टी नेकपा एमाले हो।'

नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य तथा पूर्वराज्यमन्त्री बलबहादुर महतले नेपालको विकासमा नेकपा एमाले पार्टीको अग्रणी भूमिका रहेको चर्चा गरे। 

उनले भने, 'भारतले लगाएको नाकाबन्दीलाई डटेर सामना गर्ने देखि सुरुङ्ग मार्ग निर्माण र धराहरा पुननिर्माण लगायतका महत्वपूर्ण काम एमालेको पालामा भएको हो।'

उनका अनुसार अब हुने स्थानीय, प्रदेश र संघको निर्वाचनमा नेकपा एमालेले जनताबाट आरामले बहुमत ल्याएर यो देशको विकासमा सरिक हुनेछ। 

नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले नेकपा एमालेको अधिवेशनले नयाँ नेतृत्व सर्वसहमतिका आधारमा चयन गर्ने बताए।

'जुम्लाको भूगोल, नेकपा एमालेको भावना र जुम्ली जनताको समस्या हल गर्न सक्ने नेतृत्व चयनमा नेकपा एमालेले ध्यान दिनेछ'  उनले भने, 'नेकपा एमालेको नयाँ नेतृत्वले आगामी दिनमा जिल्लाको राजनीतिक भविष्य निर्माण गर्नेछ।'

नेकपा एमाले जुम्लाको अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेपाली काँग्रेस जुम्लाका पार्टी उपसभापति कार्मा बुढाले राजनीतिक सहमतिका आधारमा विकास निर्माण हुने बताए।

जिल्लाको विकासका लागि सबै राजनीतिक दलहरु एकै ठाउँमा आउनु पर्ने उनको भनाइ छ। उनले भने, 'नेपाली राजनीतिक इतिहासमा नेकपा एमालेले खेलेको भूमिका महत्वपूर्ण छ।'

उद्घाटन समारोहमा राप्रपाका विर्षवहादुर कठायत, नेमकिपाका जिल्ला अध्यक्ष पूर्णलाल खत्रीलगायतले शुभकामना मन्तव्य दिएका थिए। 

एमाले जिल्ला अधिवेशनले अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ जना गरि ५ जना पदाधिकारी र बाँकि ९० सदस्यीय जिल्ला कमिटी सदस्य चयन गर्ने एमाले जुम्लाले जनाएको छ।

नेकपा एमाले जिल्ला अधिवेशनका लागि जुम्लाका ८ वटा स्थानीय तहबाट ४ सय जना प्रतिनिधि छनोट भएर आएका छन्। ३० जना संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट भएको नेकपा एमाले जुम्लाले जनाएको छ। 

जिल्ला अधिवेशनबाट नेकपा एमाले जुम्लाले ३३ प्रतिशत महिला र १३ प्रतिशत दलितको सहभागिता गराउने अध्यक्ष महतले बताए।

प्रकाशित मिति: : 2022-01-07 21:15:00

प्रतिकृया दिनुहोस्