पोखरामा आजदेखि जलपक्षी गणना

File Photo
File Photo

पोखरामा जलपक्षीको गणना गरिने भएको छ। सन् १९८७ देखि नियमित रूपमा गरिँदै आएको जलपक्षी गणना कार्यक्रमअन्तर्गत पोखरामा आजदेखि दुईदिनसम्म गणना गरिने भएको हो। सन् २००४ देखि पोखरा उपत्यकामा नियमित जलपक्षी गणना गरी अभिलेख राखिँदै आइएको छ। प्रत्येक वर्ष जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणनामा स्वयंसेवी पक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षणसँग सम्बन्धित सङ्घसंस्थाको सहभागिता रहेको पोखरा पक्षी समाजका अध्यक्ष तथा गणनाका क्षेत्रीय प्रतिनिधि मनशान्त घिमिरेले जानकारी दिए।

उनका अनुसार सिमसारमा आश्रित पानी चराहरूको अवस्था पत्ता लगाउन, सङ्ख्या अध्यावधिक गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ। यस वर्ष पनि पुस १७ देखि माघ ५ (जनवरी १ देखि १९) सम्म विश्वभरका साथै नेपालका ६० भन्दा बढी ताल तलैया र नदीमा जलपक्षीहरूको गणना भइरहेको छ।

होटेल टाइगर माउन्टेन पोखरा लजका प्रबन्धक मार्कस कटनको अगुवाइमा सन् २००४ देखि पोखरामा सुरु गरिएको पानी चरा गणनामा पथप्रदर्शकहरु, नेपाल पक्षी संरक्षण सङ्घ–पोखरा र पोखरा पक्षी समाजको संलग्नता रही आएको छ। पहिलो दिन विजयपुर खोला, कमलपोखरी, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, मैदी ताल, बेगनास र रुपा तालमा र दोस्रो दिन फेवातालमा जलपक्षी गणना गरिने प्रकृति संरक्षणविद् झलक चौधरीले जानकारी दिनुभयो ।हालसम्म गरिएको गणनामा पोखरा उपत्यकामा ४६ प्रजातिका पानी चराको अभिलेख गरिए पनि वर्षैभरि गरिने अध्ययनमा १०२ प्रजातिका पानी चरा देखिएको अध्यक्ष घिमिरेको भनाइ थियो।

प्रकाशित मिति: : 2022-01-11 13:00:00

प्रतिकृया दिनुहोस्