सामूहिक बलात्कारमा संलग्नलाई प्रहरीकै साथ !

मदन नेपाली

सुन्दरहरैचा

मानव बेचबिखन मुद्दाका फरार अभियुक्त अर्जुन भनिने हिमबहादुर श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ होटल एन्ड फेमेली लजमा शुक्रबार राति भएको सामूहिक बलात्कारको घटनामा प्रहरीले जानाजान अभियुक्त पक्षलाई प्रमाण मेटाउने समय दिएको खुलेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बलियास्थित राजमार्गमा रहेको घटनास्थल (होटल) अस्थायी प्रहरी बिटबाट सय मिटर नजिकै रहे पनि सो आपराधिक घटनाबारे सूचना पाएको १० घण्टापछि मात्रै मुचुल्काका लागि प्रहरी पुगेको थियो।

बलात्कार जस्तो गम्भीर तथा तत्काल अनुसन्धान थाल्नुपर्ने अपराधमा प्रहरीबाट भएको यो ढिलाइले जानाजान अभियुक्तलाई प्रमाण मेटाउन समय दिएको देखिन्छ।

शनिबार बिहान ९ बजेतिर घटनाका बारेमा जानकारी पाएको इलाका प्रहरी कार्यालय बेलबारीले साँझ ७ बजेतिर मात्रै घटनास्थलमा मुचुल्का उठाउन टोली खटाएको थियो। प्रहरी पुग्दा घटनास्थल धोइपखाली गरिसकिएको थियो।

बेलबारी नगरपालिका घर भएकी ३० वर्षीया महिलालाई होटलका सञ्चालक अर्जुन श्रेष्ठ, उनका भाइ सुरज भनिने मनोज श्रेष्ठ र झापा घर बताउने रामबहादुर नेपालीले होटलमा रातभर बन्धक बनाएर सामूहिक बलात्कार गरेको पाइएको मोरङ प्रहरीको भनाइ छ।

घटनामा संलग्न रामबहादुर फरार छन् भने श्रेष्ठ दाजुभाइ पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मञ्जील मुकारुङका अनुसार रामबहादुरले गाडीमा राखेर गछियाबाट सो होटल पुर्‍याएपछि तीन जनाले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

यसअघि पनि राजमार्गका होटलहरूमा अवैध यौन धन्दालगायतका गतिविधिहरू हुने गरेकाे स्थानीयले बताएका छन्। बारम्बार होटल र लजलाई व्यवस्थित गर्न आग्रह गर्दा पनि प्रहरीले नसुनेकाे स्थानीयकाे गुनासाे छ।



३० वर्षे महिलामाथि सामूहिक बलात्कार, अत्याधिक रक्तश्रावले अवस्था चिन्ताजनक

‘प्रहरीले गुनासाे सुन्नुकाे साटाे प्रत्येक लजवालासंग मासिक माेटाे रकम असुल्छ’, हाेटल व्यवसायमा आवद्ध एक  व्यवसायीले भने,  ‘जसको परिणाम यो कहालीलाग्दो घटना भयो।’

उनका अनुसार प्रहरीले मासिक रकम नदिने व्यवसायीलाई छानिछानी दुख दिने गरेकाे छ भने सहयाेग गर्नेलाई आश्रय दिने गरेकाे छ।

प्रहरीले होटलमा काम गर्ने आरती श्रेष्ठलाई सुरुमा पक्राउ गरेको थियो। तर पछि उनलाई सामान्य सोधपुछका भरमा छोडिएको छ। प्रहरीले स्थानीय जनप्रतिनिधिलाई मुचुल्काको रोहबरमा समेत राखेको छैन।

प्रहरीले तत्काल अभियुक्तलाई पक्राउ गर्न र घटनास्थल मुचुल्का उठाउन समयमा चासो नदिएको पीडितकी बहिनीको गुनासो छ।

उनकाअनुसार घटनाको अनुसन्धान थाल्न र अभियुक्तहरूलाई पक्राउ गर्न मोरङ प्रहरीले बेलबारी प्रहरीलाई निर्देशनपछि मात्रै बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले साँझपख घटनास्थलमा मुचुल्का टोली पठाएका थिए। स्थानीय प्रहरीले प्रारम्भिक अनुसन्धानमै जानाजान लापरबाही गरेकाले मुद्दा कमजोर भएर न्याय नपाइने चिन्तामा पीडित परिवार छन्।

स्थानीय जनप्रतिनिधि राम रिजाल घटनामा प्रहरीले सुरुवातदेखि नै गम्भीर लापरबाही गरेको बताउँछन्। मानव बेचविखनका फरार अभियुक्तलाई पक्राउको ‘संरक्षण’ होटल चलाउन दिएकाले त्यसैको परिणाम सो जघन्य घटनाको कारक भएको रिजालको भनाइ छ।

यस विषयमा सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले दाेषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन माग गरेका छन्। काेभिड संक्रमण भएर आसाेलेसनमा रहेका मेयर ढकाल भन्छन्, ‘बिरामी भएर बाहिर निस्कन पाएकाे छैन। दाेषी जाे काही भए पनि कारवाही हुन्छ।’ 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मुकारुङले घटनाको मुचुल्का उठाउन ढिलो टोली खटाएको विषयमा बुझ्ने र दोषी पाइए बेलबारी प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइने पनि बताए।

बलात्कारजस्तो जघन्य घटनामा मुचुल्का उठाउँदा प्रहरीले स्थानीय जनप्रतिनिधिलाई रोहबरमा राख्नुपर्नेमा नराखेको सुन्दरहरैँचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए। ‘सम्भव भए वडाध्यक्ष र नभए पनि अरू जनप्रतिनिधिलाई रोहबरमा राख्नुपर्ने हो,’ उनले भने, ‘तर यो घटनामा प्रहरीले मनोमानी मुचुल्का उठाएको छ। जानाजान मुद्दा कमजोर बनाउने नियत देखिएको छ।’

सामूहिक बलात्कारको सो घटनामा पहिले पीडितको उपचारमा ध्यान दिनुपर्ने भएकाले अरू कुरा ओझेलमा परेको अस्थायी प्रहरी पोस्ट बलियाका इन्चार्ज एवम् सहायक निरीक्षक प्रल्हाद बोगटीको प्रतिक्रिया छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मुकारुङले घटनाको विषयलाई लिएर पीडितबाट आइतबार किटानी जाहेरी परेको बताए।

उनले घटनाको मुचुल्का उठाउन ढिलो टोली खटाएको विषयमा बुझ्ने र दोषी पाइए बेलबारी प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइने पनि बताए। सामूहिक बलात्कारमा संलग्न होटल सञ्चालक अर्जुन भनिने हिमबहादुर श्रेष्ठ मानव बेचबिखन मुद्दाका अभियुक्त हुन्। उनले पत्नी इन्दिरा श्रेष्ठसँग मिलेर बूढीखोला पश्चिम इटहरीमा रिभर–साइड रिसोर्ट नामक होटल सञ्चालन गरेका थिए।

रिभर–साइड होटलबाट महिला बेखबिखन हुने गरेको प्रमाणसहित इटहरी प्रहरीले श्रेष्ठ दम्पतीविरुद्ध २०७७ असार १९ गते सुनसरी अदालतमा मानव बेचबिखन मुद्दा दर्ता गर्‍यो। अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि इन्दिरा अहिले कारागारमा छिन्।

फरार रहेका अर्जुनले भने प्रहरीसँग ‘सेटिङ’ मिलाएर बूढीखोलाबाट डेढ किलोमिटरपूर्व बलिया चोकमा होटल सञ्चालन गर्दै आएका थिए। इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काका अनुसार पक्राउ परेका अर्जुनलाई प्रक्रिया मिलाएर सुनसरी जिल्ला अदालतमा पनि उपस्थित गराइनेछ।

प्रकाशित मिति: : 2022-01-24 17:50:00

प्रतिकृया दिनुहोस्