वर्षमान पुनः माओवादी नेतालाई भएको दुर्लभ जन्डिस के हो?

बिबिसी

काठमाडाैँ

दुर्लभ 'क्रिग्लर नज्जार सिन्ड्रोम' भनिने वंशाणुगत जन्डिसबाट पीडित माओवादी नेता वर्षमान पुन झन्डै चार महिना विदेशमा उपचार गराएर नेपाल फर्किएका छन्।

नेपालमा भएको उपचारबाट रोग निको नभएपछि उनले सुरुमा थाइल्यान्ड र त्यसपछि चीन पुगेर उपचार गराएका थिए।

यो आनुवंशिक जन्डिसका कारण मानिसहरूको आँखा र छाला पहेँलो हुने र खानामा अरुचि हुने तथा पाचन प्रणालीको समस्या हुने चिकित्सकहरू बताउँछन्। तर यस्तो लक्षण जन्डिस भएका सबैलाई नदेखिन पनि सक्छ।

पित्तमा हुने बिलिरुबिन नामक पहेँलो द्रव्यको मात्रा धेरै भएपछि कसैकसैको शरीरमा दागहरू पनि देखिने गर्छ।

वर्षमान पुनलाई भएको के हो?

"विसं २०५२ तिर जाँच गराउँदा वंशाणुगत भन्ने थाहा भयो। परिवारमा कसलाई थियो त्योभन्दा अगाडि थाहा थिएन तर मलाई थाहा भयो अनि मैले त्यहि अनुसारको उपचार गरेँ," पुनले गतसाता ईमेज टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका छन्।

एक दशकदेखि माओवादी नेता पुनको उपचार गरिरहेका पेट तथा कलेजो रोग विशेषज्ञ डा. युवराज शर्मा पुनको जन्डिस आनुवंशिक र जन्मजात रहेको बताउँछन्।

पुनको परिवारका अन्य केही सदस्यमा पनि यही प्रकारको जन्डिस देखिएको छ। तर उनीहरूमा गम्भीर समस्या छैन।

"कलेजोमा जीडीपी भनिने एक प्रकारको एन्जाइम हुन्छ। त्यो प्रशस्त मात्रामा हुनुपर्नेमा कमी भइदियो भने यो प्रकारको जन्डिस देखिन्छ," डा. शर्मा भन्छन्।

साधारणयता स्वस्थ मानिसमा बिलिरुबिनको मात्रा एकभन्दा तल हुने गर्छ। तर आनुवंशिक जन्डिस भएका मानिसहरूमा सधैँ जन्डिसको मात्रा ६ वा त्योभन्दा बढी हुनसक्छ।

प्रकाशित मिति: : 2022-02-03 11:23:00

प्रतिकृया दिनुहोस्