कोकोम्हेन्दो साहित्य समाज पोखराले आयोजना गरेको प्रथम तामाङ मातृभाषा खुला कविता प्रतियोगिताको उपाधि हिरामायाको ‘योना हाउले होई’ ले जितेकाे छ।
२८५८ औँ सोनाम ल्होछारको अवसरमा तामाङ मौलिक लोक संस्कृतिको उजागर गर्ने उद्देश्य सहित आयोजित सो प्रतियोगितामा १४ रचनालाई पछि पार्दै काभ्रेकी हिरामायाको कविताले उपाधि जितेको हो।
निर्णायक समितिको संयोजक समेत रहेका लेखक तथा साहित्यकार तिर्थ तामाङ, मिनमाया तामाङ र दिपक तामाङ टोलीको निर्णय अनुसार प्रतियोगितामा काभ्रेकै रचना मोक्तान ‘यात्री’ को ‘छ्योर्तेन’ (स्मारक) कविताले द्वित्तिय स्थान हासिल गर्याे।
यसैगरी बारा जिल्लाका माधव खतिवडाको ‘व्हाईखा ल्हो ल्हो’ र ललितपुरका बुद्धराम थिङको ‘टिगा ए तामाङ हिन्ना ?’ शिर्षकको दुई रचना तृतीय बनेको प्रतियोगिता संयोजक दिपक तामाङले जानकारी दिए।
उनका अनुसार रामेछापका उदय बहादुर लामाको ‘उन्मा’ र सिन्धुलीका रुपक जमरा घलानको ‘ङाला रिमठिम’ ले सान्त्वना स्थान हासिल गर्याे।
प्रतियोगिताबाट प्रथम, द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गरेको कविहरुलाई पोखरामा एक कार्यक्रमको आयोजना गर्दै पुरस्कार वितरण गरिने संयोजक तामाङले बताए।
‘हामीले सोसलसाईट मार्फत देशका विभिन्न जिल्ला र विदेशबाट प्रतिभा संकलन र छनौट गर्याै, उनले भने, ‘अहिले नतिजा मात्रै प्रकाशन गरेका छौँ। कोरोनाको महामारी केही कम भएपछि पोखरामै भव्य कार्यक्रमको आयोजना गरेर पुरस्कार वितरण गर्नेछौ।’
संयोजक तामाङले प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गरेका कविहरुलाई जनही प्रमाणपत्र सहित क्रमश १० हजार, ८ हजार, ६ हजार र ३ हजार प्रदान गरिने बताए। सो प्रतियोगितामा काभ्रे, बारा, ललितपुर, सिन्धुली, कास्की, लमजुङ, चितवन लगायतका जिल्लासँगै अमेरिकाबाट समेत रचना पठाएका थिए ।