चलचित्र क्षेत्रको सर्वाेत्कृष्ट मानिने ओस्कार अवार्डमा पावो छोयनिङ दोर्जीको फिचर फिल्म 'लुनानाः ए याक इन द क्लासरूम' बेस्ट इन्टरनेशनल फिचर फिल्मतर्फ मनोनयनमा परेको छ।
दोर्जीको फिचर फिल्म लुनाना २३ वर्षपछि ओस्कार मनोनयनमा परेसँगै भुटानको लागि याे ऐतिहासिक अवसरसँगै अन्तर्राष्ट्रिय फिल्म जगतमा ठूलाे सफलतामा पनि मानिएकाे छ।
भुटानी फिचर फिल्म 'लुनानाः ए याक इन द क्लासरूम'ले उग्यान दोर्जी (शेराब दोर्जी)को यात्रालाई गम्भीर रूपमा चित्रण गरेको छ। उनी एक स्कूलका शिक्षक हुन्– जो पेशेवर गायक बन्न अष्ट्रेलिया जाने सपना देख्छन्।
शिक्षक दोर्जी अष्ट्रेलिया भाग्न खोज्दा सरकारी सजाय स्वरुप दुर्गम लुनाना गाउँमा लखेटिन्छन्। उनै शिक्षकको यात्रालाई कथाले पछ्याएकाे छ। शिक्षक दोर्जी दुर्गम गाउँमा पुग्दा चिन्तित हुन्छन्। उनी लुनाना बस्नै नसक्ने अवस्थामा हुन्छन्। तर दिन बिताउनैपर्ने उनकाे बाध्यता दिनदिनै थपिन्छ।
शिक्षक दोर्जी जतिसक्दाे छिट्टै गाउँ छोड्न चाहन्छन्। तर स्थानीय बालबालिकाहरूले उनकाे मन जित्छन्। त्यहाँ दोर्जीले नयाँ र कठिन चुनौतीहरूको सामना गर्नुपरेको छ– कठोर मौसम, सुविधाको अभाव र घरबाट धेरै दुर्गम ठाउँ।
ओस्कारका लागि मनोनयन हुनुअघि 'लुनानाः ए याक इन द क्लासरूम'ले धेरै चलचित्र पुरस्कार जितिसकेकाे छ।