चारदेशीय टी-२० क्रिकेट शृंखलाको अन्तिम खेलमा आयरल्यान्डले नेपाललाई जितका लागि १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित २० ओभरमा पूरा विकेट गुमाउँदै १२७ रनमा समेटियो।
आयरल्यान्डका जर्ज डक्रेलले सर्वाधिक २८ रन बनाए। यस्तै कर्टिस काम्फरले २०, एन्डी विलवार्नीयले १९ रनको योगदान गरे।
नेपालका पूर्व उपकप्तान दीपेन्द्र सिंह ऐरी चम्किएपछि आयरल्यान्डका कुनै पनि खेलाडीले खुलेर खेल्न सकेनन्। दीपेन्द्रले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए।
यस्तै अविनाश बोहराले दुई विकेट लिँदा कमल सिंह ऐरी, जितचन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए।
यससँगै सन्दीपले आफ्नो ५०औं विकेट पूरा गरेका छन्। उनी टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बने।
जारी शृंखलामा ३ खेलबाट ४ अंकसहित संयुक्त अरब इमिरेट्स शीर्षस्थानमा छ। नेपाल, आयरल्यान्ड र आयोजक ओमानको भने समान २ अंक छ। यस खेलले शृंखलाको विजेता टोली टुंगो लाग्नेछ।