बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो।
यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन्। बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन्। यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए।
मोगा जिल्लाका पीआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई नियन्त्रणमा लिएर घर पठाइएको बताए। सोनुले पुनः गाडीलाई बाहिर निकाले कारवाही हुने उनले जानकारी दिए।
यता सोनुले भने आफूहरू निष्पक्ष चुनाव चाहेकोले विभिन्न बुथमा विपक्षी दल अकालीका कार्यकर्ताले फोनमा धम्क्याउँदै भोट खसाउन लगाएको थाहा पाएर त्यसको अनुगमनमा गएको दाबी गरे। ‘केही बुथमा पैसा बाँडिएको छ। हाम्रो यो कर्तव्य हो कि हामी त्यसको अनुसन्धान गरौं र निष्पक्ष चुनाव सुनिश्चित गरौं। त्यहीकारण म त्यहाँ गएको थिएँ’, उनले भनेका छन्।
सोनुले मोगाका अर्का दलका उम्मेद्वारह मतदातासँग भोट किनिरहेको आरोप लगाए। उनले यो मामलामा तुरुन्त एक्सन लिन प्रशासनसँग आग्रह गरेका छन्।